नेपालीहरुको महान चाड दशैं, तिहारमा दिइने लामो बिदाहरुमा विद्यार्थीका लागि विद्यालयले के जिम्मेवारी दिन्छ ? स्वभाविक उत्तर आउँछ, धेरै गृहकार्य । यही होमवर्कको बोझले साना बालबालिकाहरु खुशीयालीसाथ मान्नुपर्ने चाडमा पनि खुलेर रमाइरहन पाउँदैनन् । यो तीतो यथार्थ हरेक अभिभावक र विद्यार्थीलाई थाहै छ । सबै भुक्तभोगी नै हुन् ।
पोखराका विद्यालयमध्ये पछिल्लो समय हरेक गतिविधिमा अग्रणी बनिरहेको प्रतिभा माविले यो पटक गृहकार्य दिएन । र, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीसामू भन्यो– ‘आफूमा जे प्रतिभा छ, एक्लै मिले एक्लै गर्नू, टीममा गर्नुपर्ने भए मिलेर गर्नू । प्रतिभाले तपाईंहरुको प्रतिभा प्रस्फुटन गर्ने गरी प्रदर्शन गर्ने चाँजोपाँचो मिलाउँछ ।’
विद्यालयका निर्देशक किरण सापकोटा थप्छन् – ‘हामीले विज्ञान संकायका विद्यार्थीका लागि पहिलो दिन विज्ञान प्रदर्शनी र व्यवस्थापन संकायका विद्यार्थीका लागि दोस्रो दिन बिजनेश प्लान प्रस्तुतिका कार्यक्रम प्रतियोगितात्मक हिसाबमै राखेका छौँ । उत्कृष्ट हुनेहरुले आकर्षक पुरस्कारसँगै पछि विजनेश गर्नका लागि आवश्यक परेका बेला ५ लाखसम्म विद्यालयले नै सिड मनी उपलब्ध गराउनेसम्मको योजना छ ।’
प्रतिभाले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन राखेको एकदिने विज्ञान प्रदर्शनीमा कक्षा ८ देखि १२ कक्षासम्मका ६२ टोलीले सहभागिता जनाए । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । प्रदर्शनीमा विज्ञानका कुरा मात्र छैनन् । घरयासी प्रविधिदेखि स्मार्ट सिटीका योजना छन् ।

सापकोटाका अनुसार हरेक समूहमा ३ जना विद्यार्थी सहभागी छन् । उनीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामाग्री निर्माण गरेका छन् । उत्कृष्टमध्ये प्रथम हुने समूहले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । दोश्रो समूहले १५ हजार र तेश्रो तथा चौथो समूहले ७ हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् ।
प्रदर्शनीको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले उद्घाटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव साट्दै कुलपति गुरुङले विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए । ‘विद्यार्थीले आफुभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउनुपर्छ । अन्तरनिहित ज्ञानलाई भित्र लुकाएर राख्ने होईन,’ उनले भने ।

प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता विज्ञान प्रदर्शनीले विद्यार्थीलाई नयाँ कुरा सिक्ने अवसर दिलाउने बताए । ‘यो एउटा खोज पनि हो । विद्यार्थीले आफुभित्र लुकेको कुरालाई बाहिर ल्याउनुपर्छ । नयाँ कुरा सिक्नमा सधैं चाँसो दिनुपर्छ,’ पौडेलले भने, ‘यो मेहनतलाई आगामि दिनमा निरन्तरता दिनपर्छ । परिश्रम गर्नबाट कहिल्यै पछाडि हट्नुहुँदैन ।’

निर्देशक सापकोटाले दसैं–तिहारको लामो बिदामा गृहकार्य मात्र नदिएर विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन प्रोत्साहन गरेको बताए । ‘किताबी गृहकार्य मात्र दिएर बोझ बोकाउनु हुँदैन । विद्यार्थीमा भएका आन्तरिक क्षमता पनि बाहिर ल्याउनुपर्छ,’ सापकोटाले भने, ‘विद्यार्थीमा रहेको ज्ञान र आन्तरिक क्षमता बाहिर ल्याउन शैक्षिक संस्थाको पनि दायित्व हो ।’

प्राचार्य विश्वगोपाल पराजुलीले कक्षा ३ देखि १२ सम्मका सबै विद्यार्थीले अवलोकन गरी निकै उत्साहित बनेको प्रतिक्रिया दिए । कार्यक्रममा सहभागी अतिथि, अभिभावकले विद्यार्थीले बनाएका सामाग्रीको अवलोकन गर्दै आवश्यक जानकारी पनि लिएका थिए ।

विद्यालयले ११ र १२ कक्षाका व्यवस्थापन विषयका विद्यार्थीका लागि शनिबार ‘व्यवसायिक योजना’ बारेको प्रस्तुती राखेको छ । यसमा ११ र १२ कक्षाका विद्यार्थीले एकअर्काबीच आफुले बनाएको व्यवसायिक योजना प्रस्तुत गर्नेछन् ।









सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?