‘अन्तर्घाती मुर्दावाद’ भन्दै पूर्व सभापति कृष्ण केसीविरुद्ध काँग्रेस कार्यकर्ताको नाराबाजी

‘अन्तर्घाती मुर्दावाद’ भन्दै पूर्व सभापति कृष्ण केसीविरुद्ध काँग्रेस कार्यकर्ताको नाराबाजी

krishna kc biruddha

पोखरा । आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कास्कीमा कांग्रेस कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध पार्टी कार्यकर्ताले अन्तर्घात गरेको आरोप लगाउँदै नाराबाजी गरेका हुन् ।

कांग्रेस कार्यकर्ताले बिहीबार साँझ केसी निवासअघि र बाँझापाटन क्षेत्रमा नाराबाजी गरेका हुन् । उनीहरुले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद, पार्टी शुद्धीकरण गर’ लगायत नारा लगाएका थिए ।

नेपाली कांग्रेसको झन्डा बोकेका कार्यकर्ताले बाँझपाटन सडकमा निकै बेर नाराबाजी गरेका थिए । कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै कांग्रेस कार्यकर्ताले आक्रोश पोखेका हुन् ।

नेता केसीको घर अघि कार्यकर्ताले तीब्र आक्रोशपूर्ण नाराबाजी चर्काएपछि सुरक्षाका लागि केसी निवासमा प्रहरी पुगेका छन् । कार्यकर्ताहरुले नाराबाजी गरिरहँदा घरमा नेता केसी र उनको परिवारका कुनै पनि सदस्य भने थिएनन् ।

कांग्रेस मादी गाउँपालिकाका सभापति यम गुरुङले आज दिउँसो फेसबुकमा स्टाटस लेख्दै नेता केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाईसमेत भनेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘मलाई घरमै बोलाएर १ घण्टासम्म किशोरलाई हराउनुपर्छ, जित्न दिनुहुँदैन भनेर पढाए । यसको तात्पर्य दुवै उम्मेदवार हराउनुपर्छ भन्ने हो ।’

एमालेसँग मिलेर पार्टीका प्रतिनिधि सभा उम्मेदवार तथा जिल्ला पार्टी सभापति किशोरदत्त बराल र प्रदेश सभा सदस्य उम्मेदवार दीपक गुरुङ  ‘माइला’ लाई हराउन लागेको आरोप कार्यकर्ताले लगाएका छन् ।

कास्की १(२) मा एमालेका बेदबहादुर गुरुङ श्यामले कांग्रेसका माइलालाई साढे ८ सय मतान्तरले हराएका छन् । प्रतिनिधि सभातर्फको मतगणनामा कांग्रेसका किशोरदत्त बराल एमालेका मनबहादुर गुरुङभन्दा पछि छन् ।

कृष्ण केसी नेपाली कांग्रेसबाट कास्की १ को प्रतिनिधि सभा सदस्य उम्मेदवारको आकांक्षी थिए । पार्टीले बराललाई टिकट दिएको थियो । प्रदेश सभामा दीपक गुरुङ माइलाले टिकट पाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds