पोखरा । गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन ।
११ जिल्ला रहेको गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद नपाउने भएका छन् । मनाङ, मुस्ताङ र तनहुँमा समानुपातिक कुनै सांसद हुने छैनन् । सबैभन्दा बढी सांसद बागलुङले पाएको छ । बागलुङबाट मात्रै विभिन्न पार्टीबाट ७ जना समानुपातिक सांसद बनेका छन् ।
यस्तै, कास्कीबाट ५ जना, स्याङ्जाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १/१ सांसद बनेका छन् । योसँगै बागलुङ र कास्की जिल्ला सबैभन्दा बढी सांसद भएको जिल्ला बनेका छन् ।
प्रत्यक्षबाट ४ र समानुपातिकबाट ७ सहित ११ सांसद बागलुङबाट मात्रै बनेका छन् । कास्कीमा पनि समान ११ सांसद छन् । प्रत्यक्षमा ६ र समानुपातिक ५ सांसद कास्कीबाट छानिएका हुन् । स्याङजामा ८, नवलपुरमा ६ जना सांसद बनेका छन् । गोरखा र लमजुङमा ५/५, तनहुँमा ४ तथा पर्वत र म्याग्दीमा ३/३ जना सांसद छन् । मनाङ र मुस्ताङमा २–२ जना सांसद छन् । मनाङ, मुस्ताङ र तनहुँमा प्रत्यक्ष निर्वाचित सांसद मात्रै आएका हुन् ।
६० सदस्य रहेकाे गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा २१ जना महिला सांसद हुनेछन् । संविधानले कम्तिमा ३३ प्रतिशत महिला सांसदको सहभागिता सुनिश्चित गरेपछि दलहरुले महिलालाई प्राथमिकताका साथ छनोट गरेका हुन् । सबैभन्दा धेरै कांग्रेसबाट ९ जना महिला सांसद बनेका छन् भने एमालेबाट ८ जना सांसद महिला छन् । माओवादीबाट ३ र राप्रपाबाट १ जना सांसद महिला क्लष्टरबाट आएका हुन् । दलित क्लष्टरबाट ६ जना सांसद बनेका छन् ।
एमालेबाट ३, कांग्रेसबाट २ र माओवादीबाट एक जना सांसद दलित छन् । खसआर्य ३० जना र आदिवासी जनजाति २४ जना छन् । उमेरका आधारमा पनि गण्डकीका समानुपातिक सांसद युवा अवस्थाका बढी छन् ।
३ जना सांसद ४० वर्षमुनिका छन् भने ११ जना ४० देखि ५० वर्ष, ९ जना ५० देखि ६० वर्ष र एकजना मात्रै ६० वर्ष उमेर कटेका छन् । यहाँ प्रत्यक्ष तर्फ पनि अधिकांश युवा अवस्थाका सांसद निर्वाचित भएका छन् ।
समानुपातिकमा कसरी छाने दलहरूले ?
समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले १० जना, कांग्रेसले ९ जना, माओवादी केन्द्रले ३ जना र राप्रपाले २ जनाको नाम टुंगो लगाएका हुन् । एमालेले ४ जना खसआर्य, ४ जना आदिवासी जनजाति र २ जना दलित तथा कांग्रेसले ४ जना आदिवासी जनजाति, ३ जना खस आर्य र २ जना दलित सांसद बनाएको छ । यस्तै, माओवादीले खसआर्य, आदिवासी जनजाति र दलितमा १/१ जना महिला छानेको छ भने राप्रपाले आदिवासी जनजातिबाट पुरुष र खसआर्यबाट महिलालाई अघि बढाएको छ ।
एमालेबाट खस आर्य महिला क्लस्टरबाट यसोदा रिमाल र देवका पहारी त्रिपाठी तथा पुरुषमा कृष्णप्रसाद पाठक र प्रकाश केसी सांसद बनेका हुन् । आदिवासी जनजाति क्लष्टरबाट महिलामा बिना थापा, निर्मला थापा र राजकुमारी भुजेल तथा पुरुषमा लिलाबहादुर थापाको नाम टुंगो लागेको छ । दलित कोटामा महिलामा नन्दकला दमाई र पुरुषबाट गोविन्दबहादुर नेपाली सांसद बनेका छन् ।
कांग्रेसबाट सांसद बनेका ९ जना नै महिला छन् । आदिवासी जनजातिमा विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ छनोट भए । खस आर्यमा सरस्वती अर्याल, चम्पादेवी खड्का र कल्पना तिवारी तथा दलितमा टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद बनेका छन् । माओवादी केन्द्रबाट कुशुम बुढा, सुशिला सिंखडा र दमयन्ती रुचाल सांसद बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन