अभिनेता पल शाह जेल मुक्त

अभिनेता पल शाह जेल मुक्त

Paul Shah

पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) सोमबार जेल मुक्त भएका छन् ।

पोखरा उच्च अदालतले शाहलाई आइतबार सफाई दिएकाले शाह सोमबार तनहुँ जिल्ला कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

उनी ठ्याक्कै एक वर्ष पछि फागुन १५ गते नै रिहा भएका छन् । उनलाई स्वागत गर्न परिवारसहित संगीतकार र केही फिल्मकर्मीसमेत कारागार पुगेका थिए । त्यसक्रममा फ्यानले पलको पक्षमा नाराबाजी गरेका थिए ।

नाबालिग एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।

त्यसको चार दिनपछि फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।

शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ