बाबा साहित्य साधक सम्मान श्रेष्ठ र अधिकारीलाई

बाबा साहित्य साधक सम्मान श्रेष्ठ र अधिकारीलाई

samman

पोखरा । सङ्घर्षमा कलमले हरेक वर्ष अर्पण गर्दै आएको बाबा साहित्य साधक सम्म्मान २०७८ तनहूँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र २०७९ कास्कीकी कवि लिली अधिकारीलाई अर्पण गर्ने भएको छ ।

कवि तथा गीतकार दुर्गाबहादुर शाह बाबालाई प्राप्त पुरस्कार र २०६७ सालमा पोखराको उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न टिकटका एकल कवितावाचन कार्यक्रमबाट बचत रकमबाट स्थापना भएको बाबा साहित्य साधक सम्मान अक्षयकोषको ब्याजबाट उक्त सम्मान अर्पण गरिँदै आइएको हो ।

कवि, साहित्यकार, गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य सह–प्राध्यापक कृष्णप्रसाद पौडेलको संयोजकत्वमा, लोककिन्नरी हरिदेवी कोइराला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराल सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसलाई कृष्ण सारथिको अध्यक्षतामा सम्पन्न बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।

गण्डकी प्रदेशभित्रका स्रष्टालाई अर्पण गरिदै आएको बाबा साहित्य साधक सम्मानबाट लमजुङका रुपिन्द्र प्रभावी, गोरखाकी सरस्वती श्रेष्ठ सरु, बाग्लुङका सुमन श्रापित, पर्वतका शान्तिनारायण श्रेष्ठ, कास्कीका धनबहादुर गायक र कृष्णप्रसाद पौडेल यस अगाडि सम्मानित भइसकेका छन् । सम्मानको राशि नगद १० हजार पाँच सय ५५, सम्मानपत्र र दोसल्ला रहेको छ ।

कोरोना महामारीका कारण सम्मान अर्पण गर्ने वातावरण अनुकूल नहुँदा सङ्घर्षमा कलमद्वारा सञ्चालित बाबा साहित्य साधक सम्मान र ऋषिराम रानाभाट स्मृति सम्मान कोषको ब्याज रकमबाट राष्ट्रिय अनलाइन कविता प्रतियोगिता सञ्चालन गरी यस शृङ्खलालाई निरन्तरता दिइएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय अनलाइन कविता प्रतियोगितामा सुनसरीका किरण चौलागाई शून्यानन्द प्रथम भई ११ हजार एक सय ११।–, तेह्रथुमका बद्री श्रेष्ठ याक्चा द्वितीय भई पाँच हजार पाँच सय ५५।–, पर्वतका श्रीकृष्ण शर्मा र कास्कीकी दिक्षा अधिकारी तृतीय भई जनही तीन हजार तीन सय ३३।– राशिसहितको पुरस्कार प्राप्त गर्न सफल हुनुभएको जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय हुने कविको पुरस्कार बैंक खातामा दाखिला भइसकेकामा तृतीय शर्मा र अधिकारीलाई सोही समारोहबीच पुरस्कार अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ ।

शुक्ला साहित्य सङ्गम तनहुँका पूर्व अध्यक्ष रहेका श्रेष्ठको ‘उद्वेलित मनहरू’ गजलसङ्ग्रह कृति प्रकाशित छ । श्रेष्ठसँग शुक्ला साहित्य समिति तनहूँको वार्षिक प्रकाशन शुक्लाप्रवाह कथासङ्ग्रह, कवितासङ्ग्रह, गजलसङ्ग्रह, लघुकथासङ्ग्रह मुक्तकसङ्ग्रहलगायतका विशेषाङ्क, जनसंस्कृति सामयिक सङ्गालो, जनकवि गोकुल जोशी विशेषाङ्क प्रगतिपथ सम्पादनको अनुभवसमेत छ । सप्तरंगी साहित्यिक प्रतिष्ठान पोखराबाट सम्मानित श्रेष्ठ प्रगतिशील लेखक सङ्घ, गण्डकी साहित्य सङ्गम, गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँ, सेतीकाली साहित्य सङ्गमलगायतका संघसंस्थामा आवद्ध वाङ्मयिक साधक हुन् ।

पोखरा–२४, कास्कीकोटका जन्मेकी लिली अधिकारीको ‘पहराको फूल’ कवितासङ्ग्रह निकै चर्चित छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिमा आबद्ध अधिकारी यस अघि संगम साहित्य सम्मान, सगरमाथा साधना सम्मानबाट सम्मानित भइसकेकी छन् ।

सङ्घर्षमा कलमले पुतलीबजार–७ स्याङ्जामा जन्मेका ऋषिराम रानाभाटको स्मृतिमा स्थापित ऋषिराम स्मृति सम्मान र बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान हरेक वर्ष एकैसाथ अर्पण गर्दै आएको छ ।

यो वर्ष पनि दुवै सम्मान २०७९ चैत्र १८ गतेका दिन पोखरामा एक समारोह बीच अर्पण गरिने जनाइएको छ । साथै संस्थाले जारी विज्ञप्तिमा नेपाली वाङ्मयको श्रीवृद्धिमा विविध वाङ्मयिक अनुष्ठान गर्दै आजसम्म आउँदा सहयोग गर्ने सम्पूर्ण स्रष्टा, साधक, शुभेच्छुक, शुभचिन्तक, सञ्चारकर्मीप्रति आभारसमेत प्रकट गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds