Gandak News
Our News Your Views

बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन

पोखरा । बरिष्ठ कलाकार, चित्रकार तथा कार्टुनिष्ट कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा भव्य अभिनन्दन गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका विभिन्न ३२ साहित्यिक र वाङ्मयिक संस्थाको पहलमा पोखरामा रथारोहणसहित अभिनन्दन गरिएको थियो । बराल आजकै दिन ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गरेका छन् ।

कलाकार बरालकै निवास पोखरा-३ नदीपुरबाट सुरु भएको रथयात्रा बगर, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । बाजागाजासहितको रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरे । समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे ।

अभिनन्दन समारोहमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायनलाई ‘व्यंग्यचित्रका बादशाह’को उपमा दिए । ‘समाजका विकृति, विसङ्गति, राजनीतिका विकृति, विसङ्गतिको विरूद्धमा कार्टुनको माध्यमबाट कसैले युद्ध छेडेका छन् भने त्यो वात्स्यायनले छेडेका छन्,’ उनले भने, ‘प्रजातन्त्र प्राप्तिको इतिहासमा कार्टुनको माध्यमबाट उनले जति योगदान अरूले पुर्‍याएका छैनन् ।’ पोखरालाई पानी रंगको पाठशालाको रूपमा स्थापित गर्न वात्स्यायनको योगदानको उनले चर्चा गरे ।

साहित्यकार सरूभक्तले वात्स्यायन कला क्षेत्रमा निरन्तर साधनाले ऋषित्व प्राप्त गरको व्यक्ति भएको बताए । ‘उनी चित्रकला जगतका मूर्धन्य कलाकार हुन्,’ सरूभक्तले भने, ‘अन्य कलाकारका व्यंग्यचित्रमा वात्स्यायनको प्रभाव देखिन्छ ।’ वात्स्यायनलाई उनले पोखरामा जन्मिएका विश्वस्तरीय कलाकारको संज्ञा दिए ।

समारोहमा वात्स्यायनले चित्रकलाका सुरूआति दिनदेखिका आफ्ना संघर्ष गाथा सुनाए । उनले काठमाडौंबाट पोखरा फर्किएर इगल आई आर्ट स्टुडियो खोल्नु सम्पूर्ण कलायात्राको ‘टर्निङ प्वाइन्ट’ भएको बताए । अभिनन्दनले आफूलाई थप जिम्मेवारीबोध गराएको बताउँदै सक्ने अवस्थासम्म कला सिर्जनालाई निरन्तरता दिने उल्लेख गरे । ‘यो अभिनन्दन पाएर आफूलाई सौभाग्शाली सम्झिएको छु,’ उनले भने, ‘पोखराले गर्दा सबैथोक पाएँ ।’

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले वात्स्यायनलाई अभिनन्दन गर्न पाउँदा पोखरा नै धन्य भएको बताए ।

लोड हुँदै ...