पाेखराका पूर्वफुटबलर डम्बरसिंह गुरुङको निधन

पाेखराका पूर्वफुटबलर डम्बरसिंह गुरुङको निधन

FB_IMG_1679558959349

पाेखरा । पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको बुधबार पोखरामा निधन भएको छ । ७१ वर्षीय गुरुङको हृदयघातका कारण निधन भएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पोखरा फर्कने क्रममा नाउँडाँडामा उनले चलाएको कार कुकुरसँग ठाेक्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार गुरूङले कार अघि बढाएपछि स्थानिय युवकले बाइकले पिछा गरेका थिए । युवकले कार राेकेपछि केही समूहले केरकार गरे । उनीहरूले कारकाे चाबीसमेत कब्जा गरेकाे बुझिएकाे छ । स्थिति असहज बनेपछि गुरूङ ढलेका थिए । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार बिकले घटनाबारे अौपचारिक जानकारी नआएकाे बताए । कुनै पक्षले पनि घटना सम्बन्धमा उजुरी नगरेकाे उनले जानकारी दिए ।

गुरूङकाे तीन वर्षअघि मस्तिष्कघात भएपछि टाउकोको शल्यक्रिया गरिएको थियो । उनको श्रीमती, ३ छोरी र १ छोरा छन् ।

सन् १९६६ मा बेलायती सेनामा भर्ती भएका उनी सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्यान्डको रजाधानी बैंककमा खेले । सन् १९८२ मा जर्मन प्रशिक्षक रुडी गुटेनडोर्फको प्रशिक्षकत्वमा भारतको राजधानी नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय टिमबाट प्लेमेकरको भूमिकामा खेलेका थिए । उनले कुनै समय आरसीटीबाट फरवार्डको भूमिका निर्वाह गरेका थिए ।

भूतपूर्व बेलायती सैनिक गुरुङ एन्फा यू–१४, यू–१६, आर्मी, एपीएफजस्ता ‘ए’ डिभिजन क्लबको प्रशिक्षक भइसकेका छन् । उनले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा सुरुआती समयदेखि करिब छ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए । सन् १९८२ मा ब्रिटिस गोर्खा टिमबाट एन्फा कप पनि खेलेका उनी हाल पोखरामै आराम गरिरहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ