गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा

गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा

moist rajinama

पोखरा । नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । माओवादी दलका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले पनि आजै राजीनामा दिएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीलाई माओवादीबाट मन्त्री बनेकाहरु भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा पत्र बुझाएका छन् ।

पुस १० गते एमाले र माओवादी केन्द्रबीच भएको सहमति तोडिएसँगै गण्डकी सरकार पनि फेरिने संकेत मिलिसकेको थियो । केन्द्रकै निर्देशन अनुसार माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, सभामुखसहित माओवादीका ८, उपसभामुखसहित एमालेका २२, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन् । माओवादी निस्कनासाथ एमाले र राप्रपालाई आवश्यक बहुमत पुग्दैन । अबको एक महिनाभित्र मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

सरकार अल्पमतमा परेसँगै अब मुख्यमन्त्रीसँग पुनः विश्वासको मत लिनुपर्ने वा राजीनामा दिने दुई विकल्प बाँकी रहेको हो । कुनै दलले विश्वासको मत फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र आफूमाथि विश्वास मत कायम रहे/नरहेको प्रदेशसभाबाट लिनेछन् ।

केन्द्रीय राजनीतिको प्रभावले यसअघि नै राप्रपाले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरे पनि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले राजीनामा दिएनन् । राप्रपाले समर्थन फिर्ता लिएको खण्डमा माओवादीले नलिएपनि विश्वासको मत लिइसक्नुपर्ने थियो । त्यसैले पनि एमालेको सहजताका लागि गण्डकीमा राप्रपा सरकारमै रहेको बुझिन्छ ।

नेतृत्व गर्न लालायित काँग्रेसले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनमा सहयोग गर्न माओवादीमाथि दबाब बढाइरहेको थियो । गण्डकीमा सरकारको नेतृत्व कांग्रेस—माओवादीले आलोपालो गर्ने सहमति भएको बताइन्छ ।

माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंमा भेटेर माओवादी नेतृत्वमा सरकार बनाउन पहल गर्न अनुरोध गरेका थिए । तर, आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस अग्रसर छ । काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे अब मुख्यमन्त्री बन्ने निश्चितप्रायः छ ।

मुख्यमन्त्री अधिकारीले केन्द्रीय सत्ता समिकरण बदलिएसँगै सरकार ढल्ने भएकाले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।
अब सरकार फेरबदलीका लागि विशेष अधिवेशन नै बोलाएर नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ । मुख्यमन्त्रीले समयसीमाभित्र राजीनामा दिएर सहज अवस्था बनाउने काँग्रेस माओवादीको बुझाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ