‘हल्कारा’ बद्लिदो समयको कथा

‘हल्कारा’ बद्लिदो समयको कथा

halkara pressmeet

पोखरा । बैसाख २९ गते शुक्रबार देखि अल नेपाल रिलिज हुने चलचित्र “हल्कारा” बदल्दिो समयको कथा भएको बताइएको छ । विहिबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा निर्देशक विक्रम सापकोटाले ‘हल्कारा’ नेपाली समाजको व्यथा समेटिएको कथा भएको उल्लेख गरे । चलचित्रका लेखक समेत उनै हुन् ।

उनले धैर्यता र आशालाई समेत कथा मार्फत दर्शाउन खोजिएको बताए । घरघरको कथालाई पर्दामा दर्शकले हेर्न पाउने भनाई उनको छ । “देशको अवस्थाले विदेशिनु पर्ने नेपाली समाजको बाध्यतालाई चलचित्रमा प्रस्तुत गर्न खोजेका हौं । टेक्नोलोजीको विकाससँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटोलाई समेत उल्लेख गरिएको छ ।”, उनले भने ।

सापकोटाले चलचित्रमा ९० प्रतिशत भन्दा बढी साउण्ड ओर्जिनल नै राखिएको बताए । संगीत समेत ओर्जिनल नै हो । साराङ्गी र बाँसुरीलाई बढी प्रयोग गरिएको छ । डिजिटल प्लाटफर्ममा मात्रै चलचित्र निर्माण हुँदा सिनेमेटिक्स एक्सपेरियन्स घट्दै गएको भनाई उनको छ । उनले राम्रो निर्देशकमा सम्पादन गर्ने कला पनि राम्रो हुनुपर्ने बताएका छन् ।

चलचित्रका मुख्य पात्र नायक महेश त्रिपाठीले “हल्कारा” आफ्ना लागि महत्वपूर्ण चलचित्र भएको उल्लेख गरे । हुलाकी भूमिकामा अभिनय गरेका त्रिपाठीले यसै चलचित्रबाट गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । अफिसियली आफुले लिड क्यारेक्टर गरेको पहिलो चलचित्र भएको उनले बताए ।

‘हल्कारा’ को स्क्रिप्ट मन परेर नै आफु अभिनयका लागि तयार भएको भनाई उनको छ । हर नेपालीको चलचित्र भएकाले पनि दर्शकको साथ मिल्नेमा उनी आशावादी छन् । चलचित्रमा अहिले सम्म नउठाइएका विषयलाई उठाउन खोजिएको दाबी उनले गरेका छन् ।

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान उपाध्यक्ष एवम् चलचित्र विकास बोर्डका मिडिया कोर्डिनेटर पत्रकार जीवन पराजुलीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रको छायाँकन, सम्पादन र सिनेमेटोग्राफीलाई दर्शकले मन पराउने उनले बताए । “हल्कारा” हुलाक आउनुभन्दा अगाडिको समयको कथा भएको भनाई उनको छ । हुलाकमा चिठी लेखेर पठाउने मात्रै गरिन्थ्यो तर ‘हल्कारा’ भन्नाले लेखेको चिठी पढने र त्यसको जवाफ समेत फर्काउने भन्ने बुझिने उनले बताए । ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्र र उत्कृष्ट सिनेमेटोग्राफीको समेत अवार्ड हात पारेको थियो ।

चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आफ्नो भनाई राख्दै उनले, नेपाली परिवेशमा निर्माण भएको चलचित्रलाई सबैले माया गर्नुपर्नेमा जोड दिए। उनले हल्काराले आफ्नो गाउँ-ठाउको कथा बुनेको बताउदै राम्रो ठेट नेपाली चलचित्रलाई उकास्न सबैले सकारात्मक सहयोग गर्नुपर्ने बताए । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, कास्कीका सचिव सन्तोष बस्यालले गरेका थिए।

यसअघि काठमाडौंमा भएको ग्राण्ड प्रिमियरमा ४ सय जनाको सहभागिता रहेको पराजुलीले जानकारी गराए । उक्त प्रिमियरमा हल्काराले तारिफ पाएको भनाई उनको छ । उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा संचारकर्मीहरु बाक्लो उपस्थिति रहेको उनले उल्लेख गरे ।

हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बनेको थियो । फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई कास्कीका केही ठाउँ, तनहुँको बन्दिपुर र काठमाडौंमा छायाँकन गरिएको हो । पाँच वर्ष अगाडि छायाँकन गरिएको चलचित्रमा लगानी अन्य चलचित्र भन्दा कम नै भएको जानकारी गराइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds