पोखरा विमानस्थलमा चीनबाट पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा विमानस्थलमा चीनबाट पहिलो अन्तर्राष्ट्रिय उडान

नियमित उडान होइन, चार्टर उडान मात्रै

First Flight China

चीनकाे सहयाेगमा बनेर ६ महिना अघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलाे पटक चीनबाट नै अन्तर्राष्ट्रिय व्यवसायिक उडान गरिएकाे छ । अङ्ग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको विमानस्थलमा चीनको ‘सिचुवान एयरलाइन्स’ले बुधबार पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान गरेको हो । तर, यो नियमित उडान होइन । चार्टर उडान मात्रै हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान भरेर सिधै पोखरा आएको न्यारोबडी ए ३१९ जहाज बिहान ९ः०६ बजे अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत गरी १३० जना यात्रु चीनबाट सोझै पोखरा झरेका हुन् ।

तस्वीरः सुदर्शन रञ्जीत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विदेशी वायुसेवाले गरेको यो पहिलो उडानसमेत हो । यसअघि २०२३ जनवरी १ तारिखका दिन नेपालकै हिमालय एयरलायन्सको एयरबस अवतरण भएको थियो । हिमालयले पहिलो डेमो उडानमा एयरबस ए–३२० विमान काठमाडौंबाट उडाई पोखरामा अवतरण गराएको थियो ।

नियमित होइन, चार्टर फ्लाइट

पोखरामा असार ८ र ९ गते नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभल हुँदैछ । यसका लागि चिनियाँ पर्यटक तथा खेलाडीहरुलाई सिचुवान एयरलायन्सको विमान चार्टर गरी ल्याइएको हो । चिनियाँ दुतावासले यस उडानका लागि महत्वपूर्ण भूमिका निभाएको छ ।

सिचुवान एयरलाइन्सको विमान बुधबार नै पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण भई काठमाडौंबाट नियमित उडानमार्फत छेन्दु फर्किने तालिका रहेको छ । यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किन लागेको हो ।

विमानस्थलमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितले विमानबाट आएका टोलीलाई स्वागत गरेका छन् ।

पर्यटनमन्त्री किराँतीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको सामाजिक सञ्जालमार्फत् बताएका छन् ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते अर्थात् जुन २३–२४, २०२३ मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल संघ नेपाल (हान) र नारालेसमेत सहयोग गरेका छन् ।

बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए ।

फेस्टिभलको सहयोगी संस्थाका रूपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा छन् । चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले बताए ।

प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फट रेस हुनेछ । विजेताले ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ