पोखराको सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गरेका हुन् ।
स्मार्ट सडक बत्ती सहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण लोकप्रिय इक्सोरा प्रजातिको बिरुवा लगाइएको नगरप्रमुख आचार्यले बताए । उनका अनुसार डिभाइडर भरि ८ सय बिरुवाहरू लगाइनेछन् । बिरुवाहरूको संरक्षण स्थानीयहरूले समेत गर्ने र महानगरपालिकाले विशेष निगरानी गर्ने आचार्यले उल्लेख गरे ।

‘विगतमा पनि फूलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए तर यसपालि त्यसो हुन दिइनेछैन’, प्रमुख आचार्यले भने– ‘बदनियत राखेर कसैले फूलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ । अब कसैलाई छुट दिइनेछैन । त्यसकारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सबैमा अनुरोध गर्दछु ।’ यसलाई परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको र यो राम्रो हुँदै गए अन्य स्थानहरूमा लगाइने उनले बताए ।

पोखरादेखि कोत्रेसम्मको पृथ्वी राजमार्गमा भने पोखराको पहिचानको रूपमा रहेको लालुपाते फुल रोपिने उनले बताए । पोखरालाई फूलैफूलको सहरका रूपमा विकास गर्नका लागि हरियाली प्रवर्द्धन सहित पुष्प रोपणको कार्यक्रमलाई अभियानमा रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगिसकेकाले यो महिना भित्र सञ्चालनमा आउने प्रमुख आचार्य बताए । अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ ।
घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने पुष्प विज्ञ वसन्त नर्सरीका सञ्चालक वसन्त बानियाँले बताए । उनका अनुसार यसका लागि मल जराभन्दा पनि पातबाट दिनुपर्ने उनले बताए । यो सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा पनि हो । यो बिरुवा १५/१५ इन्चको फरकमा लगाउनु पर्ने बानियाँले बताए ।

सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस