काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षको उमेरमा आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी प्रधानमन्त्री पत्नी दाहाल पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट लामो समयदेखि पीडित थिइन् ।
नर्भिक अस्पतालका डा. जगदीश जैसवालले अस्पताल ल्याईपुर्याउँदा उनको मुटुको चाल निकै सुस्त भईसकेको भन्दै बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको पुष्टि गरे ।
बिहान साढे ९ बजे प्रधानमन्त्री दाहालका निजी चिकित्सक डा. युवराज शर्माले प्रेस ब्रिफिङ गर्दै प्रधानमन्त्री पत्नी दाहालकाे निधन भएको जानकारी दिए ।

नर्भिक अस्पतालमा शीर्ष नेताहरू
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि नर्भिक अस्पतालमा विभिन्न दलका शीर्ष नेताहरू पुगेका छन्। प्रधानमन्त्री दाहाललाई समवेदना दिन बुधबार दलका शीर्ष नेताहरू र प्रधान सेनापति प्रभुराम शर्मालगायत पुगेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू आरजु राणा देउवा, नैनसिंह महरलगायत अस्पताल पुगेका छन्। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ, सञ्चार मन्त्री रेखा शर्मालगायत पनि अस्पताल पुगेका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अस्पताल पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायत पनि अस्पताल पुगेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ पनि अस्पताल पुगेकी छन्।
श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने, आजै अन्त्यष्टि
दिवंगत सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय लगिँदैछ । उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
त्यसअघि, श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालयान राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । श्रद्धाञ्जलीको लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएकाे छ । दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
समाजवादी मोर्चाको बैठक अनिश्चित
समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि बैठक अनिश्चित भएको हो ।
नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने गरि बोलाइएको थियो ।
मोर्चाले यसअघि मोर्चाको कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो । यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ