बुटवलको सुनकाण्डमा घुस खाएका डीएसपी ठगबहादुर केसी बर्खास्त

भ्रष्टाचार

बुटवलको सुनकाण्डमा घुस खाएका डीएसपी ठगबहादुर केसी बर्खास्त

कास्की प्रवक्ताका रूपमा पाेखरा आउने तयारी गर्दा गर्दै पक्राउ

Thag bahadur kc dsp

निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा केसीलाई गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलबार बर्खास्त गरिएको हो ।

केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको छानबिन टोलीले ठहर गरेको थियो । उनको छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार रुपैयाँ नगदसहित सीआईबीको टोलीले पक्राउ गरेको थियो । उनी कास्कीकाे प्रहरी प्रवक्ताका रूपमा पाेखरा सरूवा हुँदै थिए । त्यहाँ बिदा भएर पाेखराकाे तयारी गर्दा गर्दै उनी याे काण्डमा मुछिएका थिए ।

बुटवलका सुन व्यवसायी किसन विकबाट मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाई समेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेका थिए । डीएसपी केसी तनहुँबाट बुटवल आएदेखि नै व्यवसायीलाई तर्साउने र रकम असुली गर्ने धन्दामा लागेको व्यवसायीहरुले गुनासो गर्ने गरेका थिए । उनले पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाममा व्यवसायीलाई धम्क्याउने र रकम असुली गर्ने गरेको पनि आरोप थियो । उनले घुमुवा बाबुराम घिमिरे र विजय शाहीलाई प्रयोग गरेर रकम असुल्ने गरेको भन्दै सार्वजनिक रुपमै आलोचना हुने गरेको थियो ।

केसीलाई भैरहवाको बुद्ध कुरियर एण्ड कार्गो सर्भिसबाट ३ लाख रकम असुलीको आरोप पनि लागेको थियो । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित अवैध कलसेन्टरमा छापा मारेर १ सय ५० भन्दा बढी कर्मचारी पक्राउ गरिएको थियो ।

एक वर्ष अघिदेखि खुलेको कलसेन्टरमा १५ लाख रुपैयाँयाको बार्गेनिङ भएको र अन्तिममा रकममा नमिलेपछि छापा मारिएको संचालकहरुको दाबी थियो । उक्त घटनामा घुमुवा वरिष्ठ सई घिमिरे पनि अनुसन्धानमा तानिएका थिए ।

साउन १ गते तिलोत्तमा नगरपालिकाको कार्यपालिकाको बैठकमा जनप्रतिनिधिबीच विवाद हुँदा सुरक्षा दिन पुगेका डीएसपी केसीले वडा नं. ४ का वडाध्यक्ष हरीबहादुर क्षेत्रीलाई धकेलेर पौडीपोखरीमा खसालेका थिए । उक्त विषयलाई लिएर उनको चर्को आलोचनासमेत भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds