आँखा पाक्ने रोग फैलिँदै, बालबालिका बढी प्रभावित

आँखा पाक्ने समस्या विकराल

आँखा पाक्ने रोग फैलिँदै, बालबालिका बढी प्रभावित

पाेखरामा ३ दिन विद्यालय बन्द

Aakha Paakne rog 1

केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।

गण्डकी प्रदेशमा पनि आँखा पाक्ने समस्या विकराल रुपमा फैलिएको छ । विशेषत विद्यार्थीमा धेरै संक्रमण फैलिएपछि तनहुँमा त विद्यालय नै बन्द भएका छन् । पाेखरामा पनि ३ दिन बन्द गरिँदैछ । अस्पतालमा समेत बिरामीको चाप बढेको छ ।

गण्डकी प्रदेशकै एकमात्र आँखा रोगको विशेषज्ञ अस्पताल हिमालय आँखा अस्पतालमा गएको मंगलबारदेखि आइतबारसम्म मात्रै १ हजार ५७३ जना बिरामी आँखा पाक्ने रोग लिएर उपचार गराउन आएको अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले जानकारी दिइन् । त्यसमा पनि अधिकांश ९१८ जना बालबालिका छन् ।

हिमालय आँखा अस्पतालका अनुसार यसअघि आँखा पाक्ने बिरामी दैनिक करिब ३० जना हुन्थे । तर पछिल्लो समय बिरामीको चाप अत्यधिक बढेको छ ।

‘अहिले देशभर नै आँखा पाक्ने रोग फैलिरहेको छ’ श्रेष्ठले भनिन्, ‘पछिल्लो एकहप्तामा पोखरामा १ हजार ५ सय ७३ जनाले आँखा पाक्ने रोगको उपचार गराएका छन् । यसले प्रकोप फैलिएको देखिएको छ । ‘खासै जटिल रोग नभएपनि एक हप्ता गाह्रो बनाउँछ, उनले भनिन्, ‘यसले ज्योति नै गुम्छ भन्ने हुँदैन । यो निको हुन कम्तिमा १ हप्तादेखि २, ३ हप्तासम्म समय लाग्छ ।’

हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छ, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन ।

कस्ता लक्षण देखिन्छन् ?

यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् । ‘यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले दीर्घकालीन असर भने गर्दैन । तर, कसैमा संक्रमण फैलिएर आँखाको नानीमा जान सक्छ । आँखाको नानीमा संक्रमण भएमा घाउ हुने सम्भावना हुन्छ ।

आँखाको नानीमा असर गर्दा घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गाह्रो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्या पनि रहन सक्छ । चिकित्सकका अनुसार समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ । आँखा पाक्ने रोग देखिएपछि एक देखि दुई हप्तामा आफैं कम हुँदै जान्छ । कसै–कसैमा लामो समयसम्म पनि रहन सक्छ ।

बिहान उठ्दा आँखाका परेला टाँसिन सक्छ र, अरु बेला भन्दा अलि धेरै कचेरा वा चिप्रा लाग्ने समस्या पनि हुन्छ । कचेरा वा चिप्राचाहिँ कसैकसैमा एकदम तरल पानीजस्तो हुन्छ भने कसैकसैमा पिपजस्तो पहेँलो पनि हुन्छ । कसैकसैमा चाहिँ रेशाजस्तो तन्किने खालको पनि हुनसक्छ । यो कुन खालको हुन्छ भन्नेचाहिँ कुन कारणले गर्दाखेरि आँखा पाकेको हो त्यसले फरक पार्छ ।

आँखा पाक्ने समस्या वर्षातको समयमा बढी देखिन्छ । ‘पानी पर्ने र रोकिने भइरहेका बेला हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ । यस्तो बेलामा भाइरस बढी संक्रामक हुनजान्छ ।

कसलाई बढी जोखिम ?

चिकित्सकका अनुसार आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ ।

विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सजिलै सर्ने भएकाले यसले घरको सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ । तर आँखा पाकेको मानिसमा हेर्दैमा रोग सर्दैन । आँखा पाक्ने रोग आँसुबाट मात्रै सर्छ ।

कसरी बच्ने ?

चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।

आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउनुपर्छ । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा राख्नुपर्छ । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ ।

घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन ।

आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न चिकित्सकहरु सुझाव दिन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ