पोखरामा प्रचण्डले भनेः ललिता निवासमा अब माधव नेपाल निर्दोष, टेन्सन हट्यो

पोखरामा प्रचण्डले भनेः ललिता निवासमा अब माधव नेपाल निर्दोष, टेन्सन हट्यो

सेटिङ नभइ सुन तस्करी असम्भव

Prachanda

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको दाबी गरेका छन् । समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले अब नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको बताए ।

‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरु के हो कसो हो भनिराखे’ उनले भने, ‘पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएको उनको दाबी छ ।

यससँगै आफ्नो पनि टेन्सन हटेको उनले सुनाए । ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो’ केपी ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र हुने हो कि भन्ने आशंका रहेको भन्दै उनले भने, ‘अब त्यो स्थिति रहेन ।’

सरकार ‘निर्दोष नफसुन्, दोषी नछुटुन’ भन्ने मान्यताका साथ अगाडि बढेको भन्दै उनले दोषी (जेल) गइरहेका र निर्दोषहरु निर्दोष साबित भएको दाबी गरे ।

भ्रष्टाचार विरुद्धको अभियानका क्रममा अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिए पनि नछोड्नुस् भनेर आफूले भनेको उनले दोहोर्‍याए । आफूले अनुसन्धानकर्ताहरुलाई दिएको निर्देशन भन्दै उनले सुनाए, ‘दोषी छ भने जोसुकै होस्, माओवादी होस्, कांग्रेस होस, एमाले होस् समाजवादी होस् कोही नछुटुन्, निर्दोष कोही नपुरुन् ।’

प्रचण्डले  सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताए । उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए । ‘त्यस (सुन तस्करी)मा धेरै खालका मान्छेहरुको सेटिङ छ । सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो’ प्रधानमन्त्री प्रचण्डले भने ।

ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थचन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उनको भनाइ छ ।

सीआईबीको अनुसन्धान जारी रहेका बेला प्रधानमन्त्री प्रचण्डले सेटिङ नभइ सुन तस्करी असम्भव रहेको बताएका हुन् । उनले कम्युनिस्टहरू एक ठाउँमा हुन जरूरी रहेको पनि बताए।

समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिस्टलाई जोडेर जाने सपना रहेको बताएका हुन् । ‘हाम्रो सपना समाजवादी मोर्चासँग मात्र सीमित रहँदैन,’ प्रधानमन्त्री दाहालले भने, ‘यहाँ सबै कम्युनिस्ट जोडेर जान्छौं । राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य राखेका छौं । आगामी दिनमा देशको नेतृत्व कम्युनिस्टले नै गर्नेगरी जानेछौं ।’

एकता, संघर्ष र रूपान्तरण नै समाजवाद भएको भन्दै उनले कम्युनिस्ट एक ठाउँमा केन्द्रित हुन जरूरी रहेकोमा जोड दिए । ‘समाजवादको नयाँ यात्रामा उभिन चाहन्छौं,’ उनले भने ।

मोर्चा विगतको जस्तो कमजोर नरहेको दाबी गर्दै उनले समाजवादी मोर्चा लामो समयसम्म चल्ने गरी बनाइएको बताए । हतारमा पार्टी एकता हुँदा दुर्घटनामा पुगिएको उल्लेख गर्दै उनले मोर्चा तत्काल पार्टी एकता गर्ने पक्षमा नरहेको पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds