माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्

पर्वत जीप दुर्घटनाः

माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्

दुर्घटनाअघि माधवले फोनमा भनेका थिए – 'बुवासँग पनि कुरा गर्छु नि आमा'

Collage Maker-02-Oct-2023-09-31-PM-6912

पर्वतको कुश्मा स्थित तमादीखोलाले शनिबार साँझ टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका तीनमध्ये दुई जना अझै भेटिएका छैनन् । तीन दिन लगातार खोजी गर्दासमेत दुई जनाको पत्तो नलागेको हो ।

बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले बगाएको थियो । सोहि दिन रूपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ९ का ३४ वर्षीय गोपालप्रसाद बस्यालको शव भेटियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३, नौडाँडा घर भएका २७ बर्षीय माधव पौडेल (विजय) र बाग्लुङको ताराखोला ३ का ५० बर्षिय डम्बरबहादुर थापाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले जानकारी दिए ।

डीएसपी भुसालले गण्डकन्यूजसँग भने– ‘हामीले घटना लगत्तै सुरु गरेको खोजीकार्य अझै जारी छ । हामीसहित नेपाल आर्मी, सशस्त्र प्रहरीको टोली निरन्तर खटिइरहेका छौँ । पोखरादेखि कुकुर ल्याएर पनि खोजी गरेका छौँ । यहीँको दमकल लगेर खन्दै पानी हाल्दै पनि हेरेका छौँ । अहिलेसम्म दुई जनाको शव भेटिएको छैन ।’

डिएसपी भुसालका अनुसार माधवको पर्स भेटिएको छ । जहाँ उनका बिजनेश कार्डहरु थिए । माधवकै आमाले पर्स मोदी खोला दोभानमा फेला पारेकी हुन् । तीन वटा दाँत पनि भेटिएकोमा शव फेला परेको गोपालकै रहेको उनले बताए । ‘तीन वटा दाँत पनि फेला परेपछि सनाखतका लागि आफन्तलाई देखायौँ । शव फेला परेका गोपालकै तल्लो दाँत रहेछ । गोपालको शव आफन्तले अन्त्येष्टि गर्न लगिसके ।’ – डीएसपी भुसालले भने ।

गोपाल र माधव एकै कम्पनीमा काम गर्ने साथीहरु हुन् । उनीहरु भारतीय ब्राण्डको एक टायल कम्पनीको गण्डकी धौलागिरी क्षेत्र हेर्ने कर्मचारी रहेको डिएसपी भुसालले जानकारी दिए ।

१५ मिनेटअघि माधवले फोनमा भनेका थिए – ‘आमा, बुवासँग पनि कुरा गर्छु नि’

सधैँजसो कामको सिलसिलामा माधव र गोपाल बाग्लुङ पुगेर पोखरा फर्कँदै थिए । साँझ ५ बजे बागलुङबाट जीप चढे । बाटोमा ताराखोलाका डम्बरबहादुर चढे । जीपमा ३ जना यात्रु मात्रै थिए । जीप चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् ।

बाटोमा थप यात्रु पाउने आशमा अगाडि बढेको जीप कुश्मा आइपुगेपछि चालकले केहि समय रोके । कुश्मा क्षेत्रमा भिषण वर्षा भइरहेको थियो । अगाडि बढिरहेको जीप कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा छुट्याउने तमादीखोलाको कजवेमा अड्कियो । जहाँ पानी ठूलो थियो । जीप अघि बढ्न नसकेपछि चालक झरेर ढुंगा पन्छाउन थाले । ग्रेगरसहितको ठूलो बाढीले भेटिहाल्यो । जीपलाई सडकबाट सिधै तल खोँचमामा झारिहाल्यो । तीन यात्रु जीप भित्रै थिए ।

चालकले प्रहरीलाई खबर गरे । सुरक्षाकर्मी, स्थानीय परिचालन भयो । केही घण्टापछि गोपालको शव भेटियो । जीप टुक्रा टुक्रा अवस्थामा दाेभानतिर देखियो । यतिन्जेलसम्म माधवका बाआमा बेखबर थिए ।

घटना हुनु १५ मिनेट अघितिर मात्रै माधवले आमालाई फोन गरेका थिए । आफू जीप चढेर पोखरा फर्कन लागेको जानकारी गराउँदै उनले भने– ‘आमा म बागलुङबाट हिँडे है ।’ आमाले राम्रोसँग आउनु है छोरा भनेपछि उनले बुवासँग कुरा गर्छु भने । बुवा सुत्नु भएको भनेपछि माधवले कुरा गर्न पाएनन् । बाआमाले भोलिपल्ट बिहानमात्रै माधव दुर्घटनामा परेको थाहा थिए ।

छोरो बेपत्ता भएपछि आइतबार खोज्न आएका बुवा रघुनाथ पौडेल र आमा भिमा पौडेल भावविह्वल देखिन्थे । खोला छेउमा भक्कानिँदै दिनभर खोजिरहे । तर, पत्तो लागेन । आमाले माधवको पर्स भेटिन् । अहिलेसम्मको प्राप्ति यत्ति हो ।

आँखाभरी आँशु झार्दै रघुनाथले भने – ‘जीप चढेपछि बाबालाई फोन दिनुस् न भनेको थियो रे । म निदाइसकेको रैछु । आमाले म सुतेको भनेपछि ठिकै छ छोड्दिनुस, म बागलुङबाट पोखरा फर्कदैँछु भनेछ ।’

उनी भन्छन् – ‘एकछिन पछि फोन गर्दा लागेन । रातभरी फोन हानियो, लाग्दै लागेन । यस्तो भएको रहेछ ।’ सुरक्षाकर्मीसंगै मोदी र तमादी खोलामा छोरा खोज्दै गरेका रघुनाथले भक्कानिँदै भने ‘छोराको अहिले सास पनि छैन, लास पनि छैन’

तीन दाजुभाइमा माधव घरका माहिला छोरा हुन् । दाइ अहिले खोजीमै व्यस्त छन् ।

बागलुङ नगरपालिकाको दमकल, नगर प्रहरीसमेत प्रयोग गरेर शवको खोजी भइरहेको छ । पुरिएको गेग्रान हटाउन नसक्दा दुर्घटनास्थलमा कुश्मा नगरपालिकाको आग्रहमा बागलुङ नगरपालिकाको समेत दमकल परिचालन गरिएको हो । पुरिने सम्भावना भएका स्थानमा उत्खनन गर्न दमकलको फोर्सले पानी हालेर माटो फाल्दै खोज्ने काम भइरहेको हो ।

घटनास्थलमा बेपत्ताका आफन्त पनि पुगेका छन् । शव भेटिने सम्भावनासमेत कम हुँदा पीडितहरू निरास छन् । ‘शव भेटिए हुन्थ्यो भन्ने परिवारको आशा पूरा गर्न खोजेका छौं,’ पौडेलले भने, ‘नपत्याउने गरी खोलाले जिप बगाएको देखियो ।’ बाढीले एक किलोमिटर परको मोदी खोलासम्मको दायाँबायाँ क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । बाढी पसेर पूर्वतर्फको ३ सय मिटर सडक पनि हिलाम्मे छ ।

सम्बन्धित समाचारः

दुई जना अझै भेटिएनन्, तीन जनाकै सनाखत, पोखराबाट तालिमप्राप्त कुकुर खटाइयो

तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल

पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो

पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ