१० घण्टादेखि पहिरोले थुनिएको किम्रोङ खोला विस्तारै खुल्न थाल्यो

जोखिम कम

१० घण्टादेखि पहिरोले थुनिएको किम्रोङ खोला विस्तारै खुल्न थाल्यो

किम्रोङ र मोदीखोला तटीय क्षेत्रबासीलाई सतर्क रहन अनुरोध

khola thuniyo

पोखरा । करिब १० घण्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बिस्तारै बग्न थालेको छ । अन्नपूर्ण गाउँपालिका ११, घान्द्रुक नजिकै ताउलुङ (रोमे) मा खोलामाथिको पहाडबाट पहिरो खसेपछि शनिबार राति ९ बजेदेखि खोला थुनिएको थियो ।

थुनिएको खोलाको पानीले आफ्नै बाटो लिएर छेउबाट विस्तारै बग्न थालेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष एवं प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । विस्तारै पानी बग्न थालेपछि जोखिम कम हुँदै गएको तर तटीय क्षेत्रका बासिन्दा सतर्क हुनुपर्ने उनले बताए ।

किम्रोङखोला वडा नं ७ र ११ को सिमाना झिनोडाँडामा आएर मोदी नदीमा मिसिन्छ । मोदी खोला आसपासका अन्नपूर्णका वडा नं. ११, १०, ८ र ७ का साथै मोदी खोलाको नदी तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ ।

प्रवक्ता गुरुङले सम्बन्धित वडाका जनप्रतिनिधि र बिरेठाँटी तथा नयाँपुलमा रहेको प्रहरी चौकीमा खबर गरी नदी थुनिएको जानकारी सबैमा प्रेषित गरिएको बताए । यतिबेला मोदी नदिमा पानीको बहाव बढेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds