खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके पछाडि पर्छः मन्त्री सिंखडा

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा

खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके पछाडि पर्छः मन्त्री सिंखडा

nsjf gandaki 1

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण हुन नहुनेमा जोड दिएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारणसभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् ।

मन्त्री सिंखडाले भनिन् – ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु हुँदैन, पत्रकारले व्यापारीकरण हुनबाट रोक्नुपर्छ, रोक्न नसके उत्कृष्ट क्षेत्र हुँदाहुँदै पनि खेल क्षेत्र पछाडि पर्छ ।’ खेल क्षेत्र र पत्रकारिता क्षेत्र व्यवसायिक रुपमा भने अगाडि बढ्नुपर्ने उनको तर्क छ ।

व्यवसायिक रुपमा अगाडि नबढ्ने हो भने यी दुवै क्षेत्रको विकास हुन नसक्ने दावी मन्त्री सिंखडाको थियो । ‘खेल क्षेत्र र पत्रकारिताको क्षेत्र व्यवसायीक हुनुपर्छ, नत्र यी क्षेत्र कमजोर हुन्छ’ – उनले भनिन् ।

उनले नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पाेर्ट्स अवार्डमा बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्– ‘बजेटमा केही छुट्यो होला, छुटेपनि सच्याउने ठाउँ छ, अवार्डमा बजेट अभाव हुन दिन्नौं ।’

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले मञ्च गण्डकीले गर्ने कार्यहरुमा परिषदले सहकार्य गर्ने बताए । मञ्चले आयोजना गर्ने अवार्ड लगायतका कार्यक्रमको लागि परिषदले सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले मञ्च गण्डकीले खेल क्षेत्रलाई अगाडि बढाउन योगदान दिइरहँदा पनि प्रदेश सरकार र पोखरा महानगरपालिकाले यस अगाडि छुट्याउदै आएको बजेट कटौती गरेकोमा गुनासो गरे । प्रदेश सरकार तथा स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकता नदिँदा पछिल्लो समय खेल क्षेत्रमा पोखरा पछाडि परेको दावी उनको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरी प्रसाद पराजुली, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बोलेका थिए ।

उनीहरुले मञ्च गण्डकीले गर्दै आएका कार्यक्रमले खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमले यो क्षेत्रमा अगाडि बढ्ने खेलाडी, प्रशिक्षक, खेलसंघ तथा क्लब तथा खेलकुद विटमा कलम चलाउने पत्रकारलाई थप उर्जा थप्ने कार्य गरिरहेका उनीहरुको भनाई थियो । अवार्ड कार्यक्रमको निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धता समेत उनीहरुले जनाए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरज श्रेष्ठ र कार्यक्रम सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए । मञ्चको बन्दसत्रले महासचिव राजाराम पौडेलले पेश गरेको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष कविता घर्तीमगरले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत रुपमा पारित गरिएको थियो ।

विधान अधिवेशनमा विधान सम्बन्धमा समेत छलफल गरियो । विधान संशोधन समितिका संयोजक एवं मञ्चका सल्लाहकार रञ्जन अधिकारी क्षेत्रीले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र मापदण्डलाई व्यापक छलफल गरेर पारित गरिएको महासचिव पौडेलले जनाए । विधान संशोधन समितिको सदस्यमा निवर्तमान महासचिव विजय नेपाल र साधारण सदस्य ढाकामोहन बराल ( गणेश) रहेका थिए ।

विधान शंसोधन पश्चात मञ्च गण्डकीको कार्यसमितिको कार्यकाल तीन वर्षबाट दुई वर्षमा छोटिएको छ । यसैगरी, सदस्यताको हकमा समेत केही मापदण्ड तय गरिएको छ । कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना सदस्य थप गरेर १३ सदस्यीय बनाइएको छ । यी लगायत केही विधान र मापदण्ड विधान अधिवेशनबाट संशोधन गरिएको महासचिव पौडेलले जानकारी दिए ।

यसैगरी, गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा खेल पत्रकारकाे संख्या उल्लेख्य रहेका जिल्लामा शाखा गठन र अन्यमा समन्वय समिति बनाइने भएको छ । मञ्च गण्डकीमा हाल खेलकुद बिटमा काम गर्ने ७४ जना पत्रकार आवद्ध छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो । २०५७ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्की विस्तारित रुपमा यहाँसम्म आइपुगेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ