नेपाल ओमानसँग ५ रनले पराजित हुँदा समूह उपविजेता

क्रिकेट

नेपाल ओमानसँग ५ रनले पराजित हुँदा समूह उपविजेता

अब युएईसँग सेमिफाइनल खेल्ने

Cricket nepal (2)

काठमाडौं । नेपाल टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि  समूह उपविजेता बनेको छ ।

लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनले पराजित हुन पुग्यो ।

नेपालले अब सेमिफाइनल युएईसँग खेल्ने छ । सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी-२० विश्वकपको टिकट काट्नेछन्।

कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर, विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए ।

नेपाललाई जितका लागि तीन बलमा ७ रन चाहिएको थियो। चौथो बलमा विवेक आउट भए। पाँचौँ बलमा नेपालले एक रन मात्र जोड्न सक्यो भने छैटौँ बलमा छक्का प्रहार गर्न खोज्दा करन केसी आउट भए। अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो ।

नेपालका लागि विवेक यादवले २४ बलमा ५ छक्कासहित ३९ रन बनाए । कुशल भुर्तेलले २६ र करण केसीले १५ रन बनाए । यसैगरी सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले समान १२–१२ रन बनाए । कुशल मल्लले १० रन बनाए । अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका करण केसीले ३ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारेका थिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।

समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगेका थिए।  नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ