नेपाल १० वर्षपछि टि २० विश्वकपमा छनोट, युएईसँग लियो बदला

आइसिसी टी-२० विश्वकप एशिया छनोट

नेपाल १० वर्षपछि टि २० विश्वकपमा छनोट, युएईसँग लियो बदला

Nepal Cricket Selection

नेपालले १० वर्षपछि टि २० विश्वकपमा छनोट भएको छ । योसँगै आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि २० विश्वकपमा स्थान पक्का गरेको छ । शुक्रबार भएको आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईमाथि ८ विकेटको जित हात पार्दै नेपाल दशकपछि विश्वकपमा छनोट भएको हो ।

पछिल्लोपटक नेपालले सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसयता भएका चार छनोटमा नेपाल छनाेट हुन असफल भएको थियो । पाँचौ प्रयासमा नेपाल युएईसँग बदला लिँदै सफल भएको भएकाे हाे । अघिल्लो विश्वकप छनोटमा युएईसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल बाहिरिएकाे थियाे ।

आज मुलपानीस्थित खेलमैदानमा वरपर जम्मा भएका करिब ३५ हजार दर्शकबीच नेपालले युएईलाई आठ विकेटले पराजित गरेको हो । खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनमा सीमित गर्न सफल भयो ।

नेपालका लागि ओपनर आशिफ शेखले महत्वपूर्ण अर्धशतक पारी खेले । उनले ५० बलमा ६ चौका र २ छक्काको मदतमा ६३ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३ चौका र १ छक्काको मकदतमा ३५ रन बनाए । उनीहरु दुवै नटआउट रहे ।

यसअघि राम्रो सुरुवाती दिलाएका ओपनर कुशल भुर्तेल ११ रनमा क्याच आउट भए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए । त्यसपछि क्रिजमा आएका गुल्सान झा २२ रनमा बोल्ड आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन जोडेको थियाे । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले ।

राम्रो सुरुवात गरेको युएईविरुद्ध नेपालका तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ विकेट दिलाएका थिए । चौथो ओभरको चौथो बलमा सोमपालले आक्रामक इनिङ खेलेका कप्तान मुहम्मद वासिमलाई २६ रनमा क्याच आउट गराएका थिए । त्यसअघि चौथो ओभरको पहिलो बलमा खालिद शाहलाई उनले नै ३ रनमा रन आउट गरेका थिए ।

नेपालका स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेटमा असिफ खानलाई १३ रनमा आउट गरे भने युवा अलराउण्डर कुशल मल्लले अलिसान शारफूलाई १६ रनमा क्याच आउट गराए । युएईका अन्य खेलाडीको प्रदर्शन आज सम्झन लायक रहेन ।

बलिङमा नेपालका युवा अलराउण्डर कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । तीन ओभरमा १० रन मात्रै खर्चिएर ३ विकेट लिएका हुन् । त्यस्तै स्पिनर सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले चार ओभरमा १४ रन मात्रै खर्चिएर एक मेडनसहित २ विकेट लिए । त्यस्तै रोहित पौडेलले एक विकेट लिए ।

नेपालले अब उपाधिको लागि फाइनलमा आइतबार ओमानसँग खेल्नेछ । ओमानले पहिलो सेमिफाइनल खेलमा आजै बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds