करणी मनसायले ट्याक्सीमा राखेर लेकसाइडको होटल लगिएकी १४ वर्षीया बालिका उम्किइन्

फेसबुकमा 'च्याट', स्न्यापच्याट लोकेशन ट्रयापले 'भेट'

करणी मनसायले ट्याक्सीमा राखेर लेकसाइडको होटल लगिएकी १४ वर्षीया बालिका उम्किइन्

पोखराको हरियो खर्कमा बास्केटबल खेल्दै थिइन् बालिका

Thumbnail PSD Gandaknews

आज (शनिबार) दिउँसो ३ बजेतिर पोखरा-१५ मा एक बालिका साथीहरुसँग खेल्दै थिइन् । १४ वर्षीया उनी शनिबार बास्केटबल खेल्न पुगेकी थिइन् । केहि छिनपछि एक युवक आइपुगे । हरियोखर्कमा ति बालिकासँग एकछिन कुरा गरे । ट्याक्सी रोके, दुवै जना लेकसाइड पुगे ।

युवकले ड्यामसाइड स्थित होटलको रुममा बस्ने प्रस्ताव राखे । बालिकाले ‘होटल बुक गर्दै गर्नू म घरमा फाेन गर्छु’ भनिन् । युवक होटलको खोजीमा लागे । बालिकाले नजिकको मेडिकल पसलमा पुगी घटनाबारे बताइन् । त्यहीँबाट दाइलाई फोन गरिन् । दाइ लिन लेकसाइड पुगे र पोखरा १५ स्थित घर फर्किए ।

बालिका त जोगिइन् । घटना यतिमा मात्र रोकिँदैन । बालिका र दाइ घरमा फर्की परिवारसामू सबै कुरा सुनाए । त्यसपछि बुवा र ठूलीआमासहित युवकलाई समात्ने योजना बनाएर घरबाट निस्के ।

बालिकाले म्यासेन्जरमा पुनः च्याट गरेर घर आइपुगेको भन्दै बोलाइन् । उनले आफू बाहिर निस्केको र लिन आउन भनिन् । युवक होटल बुक गरेर तयारीका साथ बालिकालाई लिन स्कुटरमा रामबजार आए । बालिकासँग परिवार देखेपछि स्कुटर हुँइकाइहाले, पक्रनै सकेनन् ।

त्यसपछि मात्र घटनाबारे प्रहरीलाई जानकारी गराइयो । यतिबेला साँझको साढे ६ बजिसकेको थियो । प्रहरीले भने घटनाबारे खुलेर बताइसकेको छैन । किनकि, युवकको खोजीमा प्रहरी लागिरहेको छ । यतिबेला लेकसाइडदेखि रामबजारसम्मका सीसीटीभी फुटेज हेरिरहेको छ ।

परिवार पनि खुलेर आइसकेको छैन । बालिकाले सुरुमा आफूले ती युवकलाई नचिन्ने बताएकी थिइन् । दिउँसो २ बजेदेखि मात्र फेसबुकमा जोडिएको र कुरा भएको बताएकी थिइन् ।

श्रोतले भन्यो – ‘नानीले चिन्दिनँ भनेकी थिइन् । २ बजेमात्र म्यासेन्जरमा कुरा भएको र यसका लागि साथी हुन पनि नपर्ने भनेकी थिइन् । स्न्यापच्याटमा लोकेशन अन गरेपछि लाइभ लोकेशन देखाउने भएकाले आफूसम्म आएको र ट्याक्सीमा रोकेर बलजफ्ती चढाएको, मुख थुनेर लगेको भनेकी थिइन् ।’

बालिकाले परिवारका डरले केही कुराहरु लुकाएको हुनसक्ने प्रहरी श्रोतले बतायो । प्रहरी श्रोत भन्छः ‘हामीले अनुसन्धान सुरु गरिसक्यौँ । एक त सूचना नै ढिलो आयो । अर्को त बालिकाको बयान नै फरक फरक छ । सायद परिवारको डरले हुनसक्छ । तर, बालिका १३/१४ वर्षकी मात्र भएकाले नाबालिग हुन् । यति साना उमेरका बालबालिकाले जानेर गल्ती गर्न नसक्ने भएकाले संयमताका साथ परिवार प्रस्तुत हुनुपर्छ । अरु बालबालिका र अभिभावकले पनि घटनाबाट पाठ सिक्नुपर्छ ।’

के हो वास्तविकता ?

२५ वर्ष उमेर जति देखिने मंगोलियन अनुहारका युवक र गुरुङ थरकी ति बालिकाबीच केही समयअघिदेखि फेसबुकमा च्याट हुने गरेको थियो । ती बालिकाको परिवार पोखरा १५ मा भाडामा बस्दै आएको छ । बालिका प्रविधिमा पोख्त छिन् । यसअघि पनि यस्तै घटनामा परेर जोगिएको पनि खुलेको छ ।

युवकको फेसबुकमा नाम आश्विन गुरुङ (Ashwin Grg) छ । जुन फेसबुकमा कुनै पनि तस्वीर छैनन् । र, साथीबाहेकले हेर्न नमिल्ने गरी प्रोफाइल लक्ड छ । बालिकासँगका सबै च्याट अनसेण्ड गरी अनफ्रेण्ड गरेका छन् ।

उनीहरुको भेट भने पहिलोपटक हो । पुनः लिनलाई रामबजार आउँदा परिवार देखेर भागेपछि युवकले च्याट गरेर भनेका छन्, ‘तिमीले यो के गरेको ? …’ त्यसअघिका च्याट हिस्ट्री डिलिट भएका कारण पहिल्यैदेखि कुरा हुने गरेको अनुमान गरिएको हो ।

भिडियो कलका क्रममा बालिकाले युवकको तस्वीर लिएकी छन् र प्रहरीसम्म त्यो पुगेको छ । स्कुटरको नम्बर पनि सीसीक्यामेरामार्फत् थाहा हुने भएकाले तिहारको बिदा सकिनासाथ यातायात व्यवस्था कार्यालयबाट भेरिफाई गरी युवकसम्म पुगिनेमा प्रहरी विश्वस्त छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीसँग घटनाबारे पुष्टि गर्न खोज्दा डीएसपी श्रवणकुमार बिकले यसबारे जानकारी आइनसकेकाले वडा प्रहरी कार्यालय रामबजारसँग नै बुझ्न आग्रह गरे । वडाका प्रहरी प्रमुख इन्स्पेक्टर विनोद श्रेष्ठले अनुसन्धान जारी रहेको र बालिकामाथिको जघन्य अपराध बालिकाकै चतुर्‍याईँले टरेको बताए । अहिले रुटका सबै सीसीक्यामेरामा त्यो समयका गतिविधि हेरिरहेको उनले जनाए ।

पोखरा वडा नं. १५ का अध्यक्ष तोरण बानियाँ, सदस्य आशिष भण्डारी लगायतले यस घटनालाई चासोका साथ लिएका छन् । आफ्नै वडाबाट ट्याक्सीमा बालिका उठाएर लगेपछि संलग्नलाई पक्रनका लागि उनीहरु पनि रुटका सीसीटीभी क्यामरा पत्ता लगाउने, हेर्ने कार्यमा सक्रियताका साथ लागेका छन् ।

अहिलेका बालबालिका प्रविधिमा पोख्त छन् । सामाजिक सञ्जाल बढी प्रयोग गर्छन् । यसको सदुपयोग नहुँदा यस्ता प्रकारका घटना भइरहेकाले नचिनेकासँग नबोल्न, निकट नहुन प्रहरीले अनुरोध पनि गरेको छ । विशेष गरी उमेर नपुगेका बालिकाहरुमाथि अभिभावकको प्रत्यक्ष निगरानी गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ