चीनले आफैले राखिदियो कोरलानाकामा ‘प्रि—फाईप कन्टेनर घर’

चीनले आफैले राखिदियो कोरलानाकामा ‘प्रि—फाईप कन्टेनर घर’

उपल्लो मुस्ताङका ९८० जना नागरिकले सीमा प्रस्थान अनुमती पत्र लिइसकेका छन्

china korala boarder

जोमसोम—लगातार ४ वर्षदेखि ठप्प रहेको उत्तरी कोरलानाकामा कार्तिक २७ गते सोमबारदेखि खोल्ने तयारी गरिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डको स्थानीय आवश्यकता र व्यापारिक कारोवार संञ्चालन गर्न मुस्ताङको कोरलानाका खोल्ने तयारी अघि बढेको हो ।

गतहप्ता चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेनमा नेपाल पक्ष चीन पक्षबीच भएको छलफलमा कोरलानाका खोल्ने तिथिमिति तय गरिएको थियो । छलफलमा प्रशासन,प्रहरी र स्थानीय जनप्रतिनिधि सम्मिलित थिए ।कोभिड माहामारी तथा सुरक्षा संवेदनशीलताका कारण चीनले एक पक्षिय रुपमा बन्द गरेको मुस्ताङको कोरला प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमणपछि त्यो मार्ग प्रसस्त भएको हो । नाका खोल्ने सूचना पाएपछि उपल्लो मुस्ताङबासीमा खुसीको रौनक छाएको छ ।

सोमबारदेखि पूनः खोल्न लागिएको कोरलानाकाको दशगजा क्षेत्रमा नेपाल पक्षको कुनै आवश्यक भौतिक संरचना निर्माण भएको छैन । उता चीनतर्फ सबै पूर्वाधार तयारी अवस्थामा छ ।

कोरलानाकाबाट हुँने आर्थिक तथा व्यापारिक कारोवारका लागि सीमाक्षेत्रमा सुरक्षा प्रवन्ध आवश्यकता पर्छ । तर, भन्सारको कारोबार तथा चेकजाँच लोमान्थाङ—२ नेचुङबाट हुनेछ । नेपालतर्फको सुरक्षा सहजताको महशुस गर्दै चीन पक्षले कोरलानाकामा प्रि—फाईप ५ थान अस्थायी कन्टेनर घर बनाईदिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा अस्थायी कन्टेनर चीनले दिएको हो ।

गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोमान्थाङका वडाध्यक्षहरुको रोहबरमा कोरलानाकामा व्यस्थापन गरिएको छ । चीनले झारेको उक्त कन्टेनरहरु कोभिड माहामारीको बेला चीन पक्षले प्रयोग गर्दैआईरहेको कन्टेनरहरु हुन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा चीन पक्षले कन्टेनर दिएको हो । शनिबार लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीन पक्षले दशगजा क्षेत्रको नेपाली भूमीमा पूर्वाधार बनाईदिएको हो ।

चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा बस्न मिल्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । नाका खोलेपछि सुरक्षा संवेदनशीलताको कुराहरु पनि जोडिन्छन्,यसैले प्राप्त कन्टेनरले सुरक्षाकर्मीलाई सुरक्षित बस्न सहयोग पुग्ने अध्यक्ष बिष्टको भनाई छ । ‘कोरलानाकामा हावाहुरी र हिमपात हुने र त्यहाँ सुरक्षाकर्मी बस्न समेत मुश्किल पर्छ ,अध्यक्ष बिष्टले भने,‘ कन्टेनर भएपछि यसले सामान्य रुपमा रहन सघाउ पू¥याउँछ ।

चीनले उपलब्ध गराएको प्रि—फाईप कन्टेनर चीन पक्षले क्रेनको सहायताले नेपाली भूमीमा जडान गरेको हो । कन्टेनर विशेषगरी तत्काल बस्न मिल्ने अस्थायी टहरा हो । कोरलामा राखिएको कन्टेनर २० फुट लम्बाई र १० फुट चौडाई साईजका छन् । कन्टेनरमा ढोका र भ्यालको व्यवस्था छ । सामान्यतया एकै कन्टेनरमा ४ वटा खाँट अट्न सक्ने क्षमताको छ भने हावाहुरी चल्दा १० जना व्यक्ति अटाउन सक्छ । यसप्रकारका कन्टेनर सुरक्षा निकायहरुले कुनै खास मिसनमा प्रयोग गर्ने गर्छन ।

सोमबारदेखि खोल्न लागिएको कोरलानाकाको उद्घाटन तयारी पनि अघि बढिरहेको छ । नेपाल पक्ष र चीन पक्षका अधिकारीहरुको रोहबरमा कोरलानाकाको विधिवत उद्घाटन हुँदैछ । कुनै समय नेपाल पक्ष र चीन पक्षबीच आलोपालो संञ्चालन हुँदै आईरहेको दुई देशबीचका अल्पकालिन ब्यापार मेला पछिल्ला समयहरुमा चिनले आफ्नो तिब्बत भूमीमा दुई पटक संञ्चालन गर्ने गथ्र्यो । कोरलाको करिव ५ किमी तिब्बती भूमीमा लाग्ने अल्पकालिन व्यापार मेला बर्सेनि असार र भर्दौ हुन्थ्यो ।

यसपटक साविक जस्तो नभई उत्तरी कोरलानाका उपल्लो मुस्ताङका दुई पालिकाका बासिन्दाका लागि बाह्रै महिना खुल्न लागेको हो । नाका खोल्ने तयारी अघि बढेपछि उपल्लो मुस्ताङका ९८० जना नागरिकले सीमा प्रस्थान अनुमती पत्र लिईसकेका छन् । हिउँदयामको मौसम भएकाले धेरैजसो उपल्लो मुस्ताङी जाडो छल्न र घुम्ती व्यापारमा बेसी हिडिसकेकाले दुई तिहाईले प्रस्थान अनुमती बोर्डर पास बनाएका छैनन् ।

चीनको तिब्बती बजारबाट उपल्लो मुस्ताङीहरुले खाद्यान्न,लत्ताकपडा,कस्मेटिक सामान,ईलेक्ट्रोनिक सामान,निर्माण सामाग्री,कृषि उपकरणका साथै भेडा च्यांग्रा आयाति गरिने गरिन्छ । नेपालबाट पस्मिना, स्थानीय कृषि उत्पादन र यार्सा गुम्बाको निर्यात हुन्थ्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ