इमेज सहकारी ठगीको फरार सूचीमा रहेका ढोरपाटनका मेयर नेपाली फेसबुकबाट सार्वजनिक [भिडियो]

सहकारी ठगी प्रकरण

इमेज सहकारी ठगीको फरार सूचीमा रहेका ढोरपाटनका मेयर नेपाली फेसबुकबाट सार्वजनिक [भिडियो]

भन्छन्ः बचतकर्तालाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्न तयार छु

Dev Kumar Sarbajanik

बागलुङ र पोखरामा सञ्चालित इमेज सहकारी संस्थाबाट बचतकर्ताहरूको बचत रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फेसबुकमार्फत् सार्वजनिक भएका छन् । उनले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको पनि बताएका छन् ।

सहकारी समस्यामा परेपछि भागेर विदेश पुगेको भनिएका मेयर नेपालीले आफ्नो जीउ-धनमाथि असुरक्षा उत्पन्न भएपछि सम्पर्कविहीन भएको उल्लेख गरेका छन्।

उनको दाबी छ, ‘केही साथीहरु मेरो घरमा हतियार सहित आएर म लगायत मेरो श्रीमती र मेरो सानो छोरीलाई मार्ने धम्की समेत दिए। ६ लाख बचत भएका ब्यक्तिहरुले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदिने भनेर दबाब दिए। त्यसैले केही समयको लागि घर बाहिर बस्न बाध्य भएँ।’

आफू सम्पत्ति भएको व्यक्ति भएको बताउँदै उनले एकैपटक वचत फिर्ता माग्न आउँदा समस्या देखिएको बताएका छन्। उनले १० हजार बचत गर्नेले १० लाख भनेर दाबी गरेको साथै ऋण लिएकाहरुले नलिएको दाबी गरेको हुँदा असहज भएको बताएका छन्। उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै बेचेर भए पनि समाधान गर्ने उल्लेख गरेका छन्।

आफू मेयर भएकाले सहकारीमा समय दिन नसकेको कारण र सबै बचत कर्ताले एकै पटक बचत फिर्ता माग्न आउँदा सहकारीमा समस्या भएको बताएका छन् ।

‘म विगत ७ वर्षदेखि ढोरपाटन नगरपालिकाको नगर प्रमुख पद जिम्मेवार भएर बुर्तिबाङमा बस्ने भएकाले सहकारीमा समय दिन नसकेको कारण र मैले बचतकर्ता साथीहरु एकैपटक बचत फिर्ता माग्न आउँदा सहकारीमा समस्या भएको हो’, नेपाली भन्छन्, ‘यसबारेमा सबैलाई जानकारी छ, एकैपटक बचत फिर्ता लिन जाने हो भने बैंकहरुमा पनि समस्या हुन्छ, यो पनि सबैले बुझेकै हो। मलाई असफल पार्नका लागि अलिकति राजनीतिक कुरा पनि जोडिएको छ।’

उनले कतिपय सहकारीमा १६ अर्बको समस्या पनि रहेको भन्दै आफूलाई चोख्याउने प्रयास गरे। सहकारी राम्रो बनाउने र बिगार्नेमा कर्मचारीको पनि हात हुने उल्लेख गरेका छन्।

१८ वटा घर ४४ कित्ता जग्गा

नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्ब भन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

मेयर नेपालीका अनुसार बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर छन् ।

नेपाली सहकारीको रकम हिनामिना गरेर ५ जेठदेखि फरार थिए। सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै बागलुङका १ हजार ४ सय ८१ जना बचतकर्ताले सञ्चालक, कर्मचारीसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए।

बाग्लुङको बागलुङ बजार, गल्कोट, बुर्तीबाङ र पोखराको न्युरोडमा रहेको सहकारीले रकम फिर्ता नगरेपछि बचतकर्ताको बिचल्ली छ।यस्तै, पोखरामा ६४ करोडको माग गर्दै ५२५ जनाले प्रहरीमा निवेदन दिएको कास्की प्रहरीले जानकारी दिएकोछ ।

इमेज सहकारी पोखराका अध्यक्ष चित्रबहादुर भण्डारी, बागलुङ शाखाका प्रबन्धक शक्ति किसान लेखा प्रमुख लालमति रोकासहित ६ जना पक्राउ परेका थिए। डिएसपी विकका अनुसार २ जना पुर्पक्षका लागि थुनामा छन्। अरु ४ जना घरौटीमा रिहा भएका छन्।

हेर्नुहोस् मेयरको वक्तव्यः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds