पोखरा वडा नं. ९ र वडा नं. १० जोड्ने चाइनापुलसँगै पृथ्वीचोकमा अव्यवस्थित तबरले बसेको सुकुम्बासी बस्तीका केही घरटहरा भत्काइएको छ । पुल निर्माण क्षेत्रमा पर्ने बस्तीलाई डोजर लगाएर हटाइएको हो ।
पृथ्वी राजमार्गको क्षेत्राधिकार भित्र पर्ने भन्दै मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाको आग्रह बमोजिम पोखरा महानगरले ती टहरा भत्काइदिएको छ । १२ परिवारका संरचना हटाउनुपर्नेमा केहीले क्षतिपूर्ति लिएर हटे भने अटेर गरेकालाई मंगलबार हटाइएको हो । वडा नं. १० तर्फका ३ टहराहरु पहिल्यै हटेका हुन् भने वडा नं. ९ तर्फका ९ टहरामध्ये ६ जनाले क्षतिपूर्तिको पहिलो किस्ता लिएर हटाएका थिए ।
महानगरका प्रहरी टोली डोजरसहित उक्त क्षेत्रमा पुगेको थियो । पटक पटक सूचना दिँदा र क्षतिपूर्ति बापतको पहिलो किस्ता बुझिसक्दा पनि स्थानीयले अटेर गरिरहेको महानगरको भनाई छ ।
सुकुम्बासीहरुले भने समय नदिएर बलजफ्ती हटाएकोमा रुवाबासी गरेका थिए । उठीबास गराएको भन्दै केही समय उनीहरुले अवरोध समेत गरेका थिए । पुल निर्माणका लागि सडकको भोगाधिकार (राइट अफ वे) भित्र रहेका ती टहराहरू हटाउन पुगेको नगर प्रहरीको टोलीमाथि सोमबार स्थानीयहरूले ढुङ्गा प्रहार गरे ।
स्थानीयको ढुङ्गा प्रहरबाट नगर प्रहरी जवान सुमन श्रेष्ठ घाइते भएका छन् । यसअघि आइतबार पनि नगर प्रहरीले टहरा हटाउन आग्रह गरेको थियो ।
पोखरा मुग्लिन सडक सुधार तथा विस्तारको कार्य गरिरहेको एसियाली विकास बैङ्कले आफ्नो नम्स अनुसार सम्बन्धित सरोकारवालाहरूको बैठक बसी ती टहराहरूको मूल्याङ्कन सहित उचित क्षतिपूर्ति समेत निर्धारण गरिदिएपछि पहिलो किस्ता गत साउन महिना मै बुझाइ सकिएको छ ।
आयोजनाका इन्जिनियर नारायण पौडेलका अनुसार पहिलो किस्ता सबैलाई बुझाइएको हो । दोस्रो किस्ता बुझ्नका लागि उनीहरूले टहरा सबै हटाउनु पर्छ ।
संरचना भत्काउनुपूर्व ५० प्रतिशत र भत्काइसके पछि ५० प्रतिशत रकम उपलब्ध गराइने योजनाले जनाएको छ । १२ वटा घरलाई संरचनाको अवस्था हेरी करिब ३५ लाख क्षतिपूर्ति दिनुपर्ने देखिएकोमा १८ लाख वितरण गरिसकिएको छ । ३५ लाखमध्ये बाँकी १७ लाख संरचना भत्काइसकेपछि दिने तयारी गरिएको छ ।
मौजुदा पुलको दुवैतर्फ १९० मिटर लामा दुई वटा पुलहरू निर्माण हुँदैछन् । सम्झौता बमोजिम पुल निर्माण कार्य २०८२ भाद्र २१ गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ । पुलको हालै मात्र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका थिए ।
पुल १ अरब ७ करोड २४ लाख २६ हजार ५ सयको लागतमा निर्माण हुनेछ । पुल रसुवा कन्स्ट्रक्सन प्रा.ली काठमाण्डौले निर्माणको ठेक्का पाएको छ ।साइट क्लियरको काम दुई दिन भित्र सकिने मुग्लिन–पोखरा राजमार्ग सुधार योजना प्रश्चिम क्षेत्र प्रमुख राजेश प्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?