राष्ट्रिय माविले हीरक महोत्सव मनाउँदै, मंसिर २० गते उद्घाटन

७५ औँ वर्ष विशेषः

राष्ट्रिय माविले हीरक महोत्सव मनाउँदै, मंसिर २० गते उद्घाटन

५० लाख खर्च लाग्ने

rastriya mabi

पोखराको एक पुरानो विद्यालय राष्ट्रिय माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउने भएको छ ।

पोखरा १ पुरानो टुँडिखेलस्थित उक्त माविले स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाउने भएको हो । एक वर्षसम्म मनाउने घोषणा गरेको राष्ट्रिय माविले यहि मंसिर २० गते हीरक महोत्सवको उद्घाटन गर्ने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

विद्यालयको ७५ औं स्थापना दिवसको अवसर पारेर सो दिन प्रभातफेरी र हीरक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए । हीरक महोत्सव शुभारम्भ कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने उनले बताए ।

हीरक महोत्सव शुभारम्भ कार्यक्रमको उद्घाटनअघि निकालिने प्रभातफेरीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए । उनका अनुसार प्रभातफेरी र्‍याली विद्यालय स्थापना भएको पोखरा ३ नदीपुरस्थित नारायणस्थान मन्दिरबाट सुरु गरिने अध्यक्ष राणाले बताए । प्रभातफेरी र्‍याली पालिखेचोक, तेर्सापट्टी, नालाकोमुख, भीमसेनटोल, बागबजारहुँदै विद्यालय परिसर पुरानो टुँडिखेलमा आएर हीरक महोत्सव शुभारम्भ सभामा परिणत हुने उनले बताए ।

प्रभातफेरीमा पञ्चे बाजासँगै सरस्वतीको झाँकी प्रदर्शन गरिनेछ भने ७५ जना विद्यार्थीहरु विभिन्न भेष भुषामा सजिएर प्रस्तुत हुने विद्यालयले जनाएको छ । प्रभातफेरीमा विद्यालयका जग्गादाता पराजुली परिवार र विद्यालय स्थापना हुँदा रहेका सञ्चालक समितिका व्यक्तिहरुको फोटो राखिने अध्यक्ष राणाले जानकारी दिए । त्यस्तै, २००६ सालदेखी २०७८ सालसम्मका प्रत्येक व्याचको प्ले कार्ड सहित पूर्व विद्यार्थीहरु सहभागी हुने उनले बताए ।

२० मंसिर २००६ मा पब्लिक मिडिल स्कुलको नामबाट पोखरा ३ नदिपुरमा संचालित विद्यालयलले २००७ मा स्थायी स्वीकृति पाएसँगै राजा त्रिभुवनले एक हजार दिएपछि विद्यालयको भवन निमार्णको काम सुरु भएको थियो । नदीपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय सार्नका लागि उपयुक्त जमिनको खोजी भएको थियो ।

सोही क्रममा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा आइपुगेको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले जानकारी दिए । त्यसपछि तत्कालीन श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबिच भवन निर्माण सम्झौता भएको थियो । भवन निमार्णको शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरेका थिए ।

विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकोमा चार जना उत्तीर्ण भएका थिए । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा लागु हुनु पुर्व विद्यालयको नाम नेसनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । हाल विद्यालयका इसिडि देखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ ।

२०५४ देखि दश जोड दुईको पढाई संचालन सुरु भएको विद्यालयका हाल ४४ जिल्लाका गरी एक हजार चार सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने ५७ जना शिक्षक, कर्मचारीहरु कार्यरत रहेको प्रअ सापकोटाले जानकारी दिए । २ वर्षअघि २५ सय विद्यार्थी पढ्दथे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds