स्कुटरसँग ठोक्किएपछि बसमा च्यापिएका युवकको उपचार खर्च अभावले जीवन संकटमा

पोखरा रानीपौवा दुर्घटनाः

स्कुटरसँग ठोक्किएपछि बसमा च्यापिएका युवकको उपचार खर्च अभावले जीवन संकटमा

सानैमा आमाले छाडेका विपन्न परिवारका क्षितिज विदेश जाने तयारीमा थिए

ranipauwa-accd

पोखराको रानीपौवामा गत आइतबार राति सवारी दुर्घटनामा परेर गम्भिर घाईते भएका युवक लाइसेन्समा उल्लेखित १९ वर्षीय क्षितिज नेपाली भएको पुष्टि भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक घर भई पोखराको नदिपुर बस्दै आएका क्षितिज रानीपौवामा हजुरआमालाई भेटेर घर फर्कने क्रममा राति पौने ११ बजे स्कुटरसँग ठोक्किएका थिए । त्यसपछि उनी अर्को लेनमा बजारिँदा गुडिरहेको बस मुनि परेका थिए । क्षितिज अमरसिंह माविमा कक्षा १२ मा पढ्दै आएको बुझिएको छ ।

क्षितिजको उपचारका लागि आवश्यक खर्च नहुँदा जीवन संकटमा परेको छ । दुर्घटनामा ठक्कर खान पुगेको बस धनी र बस आबद्ध समितिले आफ्नो गल्ति नभएको दाबी गर्दै उपचार खर्च नब्यहोर्ने भन्दै पन्छिएपछि घाईतेको ज्यान झनै जोखिममा परेको हो ।

कमजोर आर्थिक अवस्थाका कारण घाईतेको परिवारले आवश्यक औषधि किन्न सक्ने अवस्था छैन । बसवालाले दुर्घटनाको जिम्मेवारी लिन आनाकानी गर्दै तर्किएपछि औषधि किन्न नसकेर छोराको जीवन संकटमा परेको क्षितिजका बुवा तिलक नेपालीले मंगलबार बताएका थिए । पछिल्लो अपडेट अनुसार बुधबार भएको छलफल सकारात्मक दिशामा अघि बढेको छ।

‘छोरालाई किच्ने सञ्जोग ट्राभल्सको बसवालासँग कुरा गर्दा हाम्रो गल्ती छैन, हामी हेर्दैनम् भनेर पन्छिए । औषधि किन्न जाँदा एउटैको ३४ हजार रुपयाँ पर्दोरहेछ । मसँग भएको अलिअलि रुपयाँ पनि सबै सकियो, अब कसरी उपचार गरेर ज्यान बचाउने हो ?’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भौतारिँदै हिँडेका तिलकले दुःखेसो पोखे – ‘संजोग ट्राभल्स पृथ्वीराजमार्ग बस समितिमा रहेकोले त्यहाँ दुर्घटना हेर्ने मान्छेसँग कुरा गर्दा पनि कहिले बाहिर छु, कहिले बैठक बस्न पर्छ भनेर आलटाल गरिरहे । तर, आजको वार्तापछि केही आशा जागेको छ । प्रहरीसँग कुरा गर्दा उपचार गराउँदै गर्नु भन्छन् । कहाँबाट रुपयाँ ल्याएर उपचार गराउने हो ? मेरो छोराको उपचार कसले गर्ने हो ? ठेगान छैन । छोराको अवस्था चिन्ताजनक छ ।’

नयाँपुल, पोखरा हुँदै काठमाडौ चल्ने संजोग ट्राभल्सको ना ५ ख १२३ नम्बरको बसभित्र मोटरसाईकलको अगाडिको भागसहित च्यापिएका क्षितिजलाई घटनास्थलका स्थानीयले उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आकस्मिक कक्षमा लगेका थिए ।

क्षितिजको उपचारको शुरुवातको खर्च पनि अस्पताल लाने युवकले नै ब्यहोरेका थिए । टाउकोमा गम्भिर चोट लागेर अचेत अवस्थामा रहेका क्षितिजलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भएपनि परिवारको अत्तोपत्तो नभएका कारण भोलिपल्ट सोमवार चार बजेमात्रै टाउकाको शल्यक्रिया गरिएको थियो ।

टाउकोमा रगत जमेका क्षितिजको खप्परको हड्डी निकालिएको छ । घाईते क्षितिज हालसम्म पनि अचेत अवस्थामा रहेको बुवा तिलकले बताए । अस्पतालको आईसियूमा अत्यन्त नाजुक अवस्थामा उपचार गराईरहेका घाईते क्षितिजको लागि दुर्घटनासँग सरोकार राख्ने बसवालाले जिम्मेवारी नलिँदा र परिवारले औषधि किन्न नसक्दा उपचारमा ढिलाईले प्राण झनै संकटमा पर्ने अवस्था आएको हो ।

पोर्चुगल जाने आवश्यक प्रकृया पूरा गरेर निश्चित भएको भिसाको पर्खाइमा बसेका छोरा क्षितिज मरणासन्न अवस्थामा अस्पतालको बेडमा सुतेको देख्दा तिलक नेपाली चिन्ता र पीडाले छटपटाएका छन । सानैमा आमाले छाडेर गएपछि आफैले हुर्काएको एक्लो छोराको बाँच्ने अवस्था जम्मा १० प्रतिशत मात्रै भएको चिकित्सले बताएदेखि तिलक मर्माहत बनेका छन् ।

दुर्घटनापछि वडा प्रहरी कार्यालय रामबजारले बस चालकलाई नियन्त्रणमा लिएकोमा छाडिसकेको छ । रामबजारका प्रमुख प्रहरी निरीक्षक विनोद श्रेष्ठले दुर्घटना हुँदा ठूलो सवारीसाधनको गल्ती मान्दै सजाँय क्षतिपूर्ति भराउने परम्परागत चलन अहिले हटिसकेको बताउँदै आजकल दुर्घटना हुँदा घटनास्थलको प्रकृति, प्रत्यक्षदर्शी र पीडितको भनाईलाई आधार मानेर सोहि अनुसार कार्वाही प्रकृया अघि बढाइने बताएका छन् । घटनाबारे कास्की ट्राफिक प्रमुखलाई सोध्दा वडा प्रहरी कार्यालय रामबजारले हेरेको प्रतिक्रिया दिए ।

  • पत्रकार प्रेम नेपालीको सहयोगमा

सम्बन्धित समाचारः

पोखरा रानीपौवामा स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालक गम्भिर घाइते

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds