पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी

ठगी

पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी

ठगी गिरोहको संलग्नतामा सहकारीको २६ करोड भन्दा बढी रकम हिनामिना

Mitra-milan-sahakari-pokhara

पोखरा नयाँबजार स्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा यसका सञ्चालक तथा संलग्नसहितलाई पक्राउ पूर्जी जारी गरिएको छ ।

कास्की जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ पूर्जी लिएसँगै ठगीमा संलग्नहरुको खोजी कार्य शुरु गरेको कास्की प्रहरीले जनाएको छ ।

सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरु, पूर्व लेखासमितिका संलग्न देखिएका सदस्यका साथै कानुनी सल्लाहकार, पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदी लगायतलाई पक्राउ पूर्जी जारी गरिएको कास्की प्रहरीले जनाएको छ ।

संस्थाका अध्यक्ष रमण पौडेल र प्रवन्ध निर्देशक किरण अधिकारी यसअघि नै चेक अनादर मुुद्धामा पक्राउ परी हिरासतमै छन् । सहकारीको बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरु प्रहरीले कात्तिक ४ गते पक्राउ गरिएको हो ।

बचतकर्ताहरुले रकम नपाएपछि दिएको निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिन गर्दा यो गिरोहको संलग्नतामा सहकारीको २६ करोड भन्दा बढि रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएको थियो ।

छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएकोले पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

सहकारीका ३४ जना बचतकर्ताले कार्तिक १२ गते एकमुष्ठ रूपमा सहकारी रजिष्ट्रार कार्यालय, गण्डकीमा उजुरी दिएका थिए । सहकारी रजिष्ट्रारको कार्यालयले सहकारीविरुद्ध आवश्यक छानविन तथा कारवाही गर्न साेहि दिन जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्र पठाएको थियो ।

‘पोखरा ९ मा संचालित यस कार्यालयको नियमन क्षेत्राधिकारभित्र रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ३४ जना बचतकर्ताहरुले आइतबार कार्यालयमा दर्ता गर्नुभएको निवेदनको प्रति यसै पत्रसाथ संलग्न छ । निवेदकहरुको माग बमोजिम सो संस्थामा आवश्यक छानविन गरी कारवाही प्रकृया अगाडी बढाउनुहुन सिफारिस साथ अनुरोध छ,’ सहकारी रजिष्ट्रारले लेखेको पत्रमा भनिएको छ ।

सहकारी सञ्चालकहरुले अनुत्पादक क्षेत्र लगानी गरेको, सहकारीको मूल्य मान्यताविपरित घर जग्गामा लगानी गरेको कारण यो अवस्था आएको हो । २२ सय जनाभन्दा बढी बचतकर्ता पीडित छन् । करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको सहकारीले नै सार्वजनिक गरेको थियो ।

अद्यावधिक गरिएकोः प्राप्त प्रमाणका आधारमा फलोअप समाचार क्रमशः प्रकाशन हुनेछन् । – सं.

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ