सुन्तलामा औँसे किराको प्रकोप, ३० प्रतिशत बढी झरेरै सकिए

सुन्तलामा औँसे किराको प्रकोप, ३० प्रतिशत बढी झरेरै सकिए

Bot-sukyako-suntala-1

पर्वत । पाक्ने बेलाको सुन्तलामा औँसे किरा फैलिएर नाश हुन थालेपछि पर्वतका किसान चिन्तित छन् ।

सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुर र दक्षिण पर्वतको पैंयु गाउँपालिका–३ त्रिवेणीमा पछिल्लो दुई सातायता औँसे किराको प्रकोप फैलिएको हो ।

सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औँसे किरा र पतेरोले सुन्तला झरेर बगैँचा भरिएको किसानले बताएका छन् । देउपुरका दाताराम चापागाईले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औँसे किराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेका बताए ।

देउपुरमा मात्रै तीन सय बढी किसान व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष रु तीन करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्े सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिए । पछिल्ला केही दिनयता औँसे किरा लागेर धमाधम सुन्तला झर्न थालेको उनले बताए । यस वर्षमा स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरे पनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाईले बताए ।

पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ र बुटबल लैजाने भए पनि अहिलेसम्म व्यापारी आइपुगेका छैनन् । टिप्ने बेलामा झर्ने र भएका दानामा पनि कीरा लागेर खानै नमिल्ने समस्या देखिएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र पर्वतले देउपुर र त्रिवेणीलगायत ठाउँमा औँसे कीराबाट झन्डै ३० प्रतिशत क्षति पुगेको जनाएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले २५ देखि ३० प्रतिशत क्षति पुगेको र थप क्षति हुन नदिनका लागि जतिसक्दो चाँडोे सुन्तला टिपेर बजार पठाउन आग्रह गरिएको उनले बताए ।

उनले औँसा किराले झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र ब्रेक गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको समेत बताए ।

औँसा कीराको प्रकोपबारे पोखराबाट बाल संरक्षण प्रयोगशालाबाट विज्ञहरु लगेरसमेत स्थलगत अनुगमन गरिएको किराको प्रकोप निदानका लागि किसानलाई आवश्यक सल्लाह र विषादीसमेत सिफारिस गरिएको बताए । चाइनिज फ्रुट प्लाई अर्थात् औँसा कीराको चक्र नष्ट गर्न झरेका सुन्तला प्लास्टिकमा जम्मा गर्ने र गहिरो खाल्डोमा पुर्न उनी सुझाउँछन्।

पर्वतमा झन्डै नौ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रमा भने अहिलेसम्म रोग कीराको समस्या नदेखिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । गत वर्ष पर्वतबाट रु ३० करोडका सुन्तला निर्यात भएको थियो ।

किसानले समयमै मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिनाले मुख्य पकेट क्षेत्रहरुमा असर नपारेका कारण पर्वतमा यस वर्ष पनि सुन्तला उत्पादनमा वृद्धि हुने केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ