भेटिएको १ लाख तत्काल प्रहरीलाई बुझाउने सराङकोटका युवराजको इमान्दारिताको चर्चा

पैसा कसको ? प्रमाणका साथ सम्पर्क गर्नू- बगर प्रहरी

भेटिएको १ लाख तत्काल प्रहरीलाई बुझाउने सराङकोटका युवराजको इमान्दारिताको चर्चा

पोखरा अर्चलबोटबाट भैरवटोल जाँदा सोमबार ४ः४० बजे कसले खसायो १ लाख ?

Yuvaraj Thapa gandak

समाजमा चोरेको, लुटेको, ठगेको घटना भइरहन्छन् । समाचार तथा कुराकानीमा यसबारेमा थाहा पाइरहेका हुन्छौँ । सहयोग गरेको, दान गरेको, अरुका लागि निस्वार्थ काम गर्नेहरु विरलै हुन्छन् । यी बारे समाचार तथा चर्चा कमै सुनिन्छ ।

भनिन्छ, पैसा भनेपछि महादेवको पनि तीन नेत्र । तर, पोखराका एक २३ वर्षीय युवकले सकारात्मक सन्देश दिने काम गर्दै उदाहरण प्रस्तुत गरेका छन् । उनले सडकमा भेटेको एक लाख नोटको बिटो तत्काल प्रहरीलाई खबर गरी बुझाएका छन् ।

पोखरा १८ सराङकोट, पदेली घर भएका युवराज थापा सोमबार अपरान्ह ४ः४० बजेतिर भैरवटोलबाट अर्चलबोट जाँदै गर्दा चोकैमा १ लाखको बिटो देखे । एनआइसी एशिया बैंकको स्टीकर टाँस गरेको १००० दरको १०० नोट रहेको १ लाख बिटो देख्नेबित्तिकै सोधपुछ गरे । अनि, पुलिसलाई खबर गरिदिए । वडा प्रहरी कार्यालय, बगरबाट प्रहरीको टोली अर्चलबोट पुग्यो । र, मुचुल्का बनाई प्रहरीले बुझ्यो ।

यस ईमान्दारिताका लागि उनलाई बधाई मिलिरहेको छ । उनको फेसबुक प्रोफाइलमात्र होइन, युवाहरुको सेक्रेट फेसबुक ग्रुप ‘मेन्स रुम (रिलोडेड)’ मा पनि चर्चा छ । पोखराकै प्रदीप तिवारीले ‘एमआरआर’ मा गरेको पोष्टमा युवराजको उदार र सफा हृदयको प्रशंसा स्वरूप बधाईको ओइरो लागेको छ ।

प्रहरी आइनपुग्दै स्थानीय शुशिला शर्माले फेसबुकमा युवराजको तस्वीरसहित शेयर गरिन् । त्यहाँ पनि उनको ईमान्दारिताको चर्चा भइरहेको छ ।

कसको पैसा ? खुलेन

पैसा कसको हो भन्ने अझै खुलेको छैन । वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार रकम दाबी गर्न प्रमाणका साथ सम्पर्कका लागि सूचना जारी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ