२० औं माछापुच्छ्रे टेनिस प्रतियोगिताको तयारी पूरा, २१६ खेलाडीको सहभागिता रहने

२० औं माछापुच्छ्रे टेनिस प्रतियोगिताको तयारी पूरा, २१६ खेलाडीको सहभागिता रहने

Tennis

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” तयारी पूरा भएको छ ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो । यहि पौष १० गतेबाट १४ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा अहिले सम्मकै ठूलो सहभागिता रहने कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसेले पोखरामा आइतबार आयोजित पत्रकार सम्मलेनमा जनाएका छन् ।

प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागिता जनाउन भारत, यूके र बंगालादेशका खेलाडी समेत पोखरा आउन लागेको उपाध्यक्ष चालिसे जानकारी दिए । उनले भने–“यो माछापुच्छ्रे टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”

प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथि गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै नगद करिव रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए ।

सो अवसरमा टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले यो पटक खेलाडीहरुको संख्या थपिए संगै प्रतियोगिता एक दिन लम्वाइएको जानकारी दिए । प्रतियोगिता नेपालका नं १ देखि ८ नं सम्मका र्‍याकिङ खेलाडीहरु मैदानमा उत्रिने छन् । नेपालका नं १ पुरुष तर्फ पोखराका प्रदिप खड्का र नं १ महिला खेलाडी अभिलाषा विष्टले सहभागिता जनाउने उनले बताए ।

संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराल, संघका सचिव नविन श्रेष्ठलगायतले प्रतियोगिताको विविध पक्षबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds