पोखरा प्रदर्शनी केन्द्रमा तीन दिने ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी’ सुरु [भिडियोसहित]

कृषि एक्स्पो

पोखरा प्रदर्शनी केन्द्रमा तीन दिने ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी’ सुरु [भिडियोसहित]

'कृषियन्त्र खरिद गर्दा किसानलाई ५० प्रतिशतसम्मको अनुदानको व्यवस्था'

agro expo (1)

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कृषियन्त्र र प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी २०८०’ सुरु भएको छ ।

देशका विभिन्न स्थानमा कृषि औजार प्रविधिको प्रदर्शनी गर्दै आएको नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले यो प्रदर्शनी आयोजना गरेको हो । गण्डकी प्रदेश कृषि विकास निर्देशनालय पोखरा मालेपाटन, पोखरा महानगरपालिका र नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा सुरु प्रदर्शनी २२ पुससम्म चल्नेछ।

तीन दिन चल्ने प्रदर्शनीमा ७० वटा स्टल छन् । एक हजारभन्दा बढी प्रकारका कृषि सामग्री प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनी समारोहको गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी प्रदर्शनी उद्घाटन गरे । मन्त्री जिसीले कृषि नेपालीको जीवनरेखा भएको उल्लेख गर्दै यसको आधुनिकीकरण र व्यावसायीकरण जरुरी भएको औंल्याए ।

गण्डकी सरकारले दोस्रो पञ्चवर्षीय योजनामा कृषिलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरिसकेको भन्दै मन्त्री जिसीले अहिलेसम्म कृषिमा दिइँदै आएका अनुदानको सदुपयोग नभएको स्वीकार्दै त्यसमा पुनरावलोकन जरुरी भएको जनाए ।

नामियाका अध्यक्ष कृष्ण शर्माले पहिलोपटक प्रादेशिक स्तरमा पोखराबाट प्रदर्शनी सुरु गरिएको जनाए । प्रदर्शनीमा प्रांगारिक मलदेखि आधुनिक किसिमका मेसिन छन् । प्रदर्शनीमा नेपालका रैथाने बालीहरु पनि राखिएका छन् । कृषि यन्त्र उत्पादक, नयाँ प्रविधि र कृषि क्षेत्रका चुनौती र अवसरबारे छलफलसमेत हुँदैछ ।

मेलामा किसानहरुका लागि सहुलियत ऋण पनि उपलब्ध छ । बैंकहरुले पनि प्रवद्र्धनमा किसानलाई ऋण दिने व्यवस्था गरेको छ । प्रदर्शनीबाट ५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा कृषि औजार, प्रविधि र कृषिसँग सम्बन्धित कार्यालय, वित्तीय संस्थाहरु र बिमा कम्पनीका स्टल छन् । अध्यक्ष शर्मा भन्छन्, ‘यो किसान र कृषि औजार उत्पादनको उत्सव हो, मुख्य गरी प्रदर्शनी हो । कारोबारभन्दा बढी बुकिङ हुन्छ ।’

प्रदर्शनीका लागि नामियाले कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, कृषि विकास निर्देशनालय गण्डकी र पोखरा महानगरपालिकासँग सहकार्य गरेको छ । अध्यक्ष शर्माले कृषक उद्यमी, कृषि विज्ञ, विद्यार्थीसहित २० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने उल्लेख गरे ।

एक हजारभन्दा बढी आधुनिक उपकरण एवं आधुनिक प्रविधिबारे जानकारी पाइने प्रदर्शनीमा पाँच करोडभन्दा बढीको कारोबारसँगै ४० जिल्लाका ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको आयोजक संघका महासचिव अर्जुनप्रसाद लुइँटेलले जानकारी दिए। लुइँटेलका अनुसार प्रदर्शनीमा उपकरण खरिद गर्दा पाँच देखि २० प्रतिशतसम्म छुट पाइनेछ।

‘मेड इन नेपाल’को छुट्टै स्टलसमेत रहने प्रदर्शनीमा कृषि यान्त्रीकरण प्रवर्द्धनसम्बन्धी गोष्ठी र सेमिनार, रैथाने बालीका परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षणसम्बन्धी छलफल तथा अन्तर्क्रियासमेत हुने कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले जानकारी दिए।

हाल गण्डकीमा जग्गा चक्लाबन्दीको कार्यक्रम भइरहेकाले तिनीहरूका लागि समेत यान्त्रीकरण आवश्यक रहेकाले प्रदेश सरकारले यसका लागि कृषकलाई विभिन्न सहयोग गरिरहेको उनको भनाइ थियो।

पोखरा महानगर कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरियाले २२ गतेसम्म चल्ने प्रदर्शनीमा पोखरा महानगरले किसानहरुलाई सघाउन करिब ८५ लाख रुपैयाँबराबरको अनुदानको व्यवस्था गरेको जानकारी दिए । प्रदर्शनीमा राखिएका कृषियन्त्र खरिद गर्दा किसानले ५० प्रतिशतसम्मको अनुदानको व्यवस्था गरेको उनले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds