धर्मस्थलीमा अध्ययनरत अतिविपन्न विद्यार्थीलाई पोखरा ५ को न्यानो कपडा

धर्मस्थलीमा अध्ययनरत अतिविपन्न विद्यार्थीलाई पोखरा ५ को न्यानो कपडा

dharmasthali

पोखरा महानगरपालिका वडा नं. ५ को वडा कार्यालयले धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत अतिविपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये २५ जनालाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा वडाध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयको स्वर्ण महोत्सवलाई सघाउने उद्देश्यले नै यो कार्यक्रम जोडिएको बताए । उनले स्वर्ण महोत्सव भव्य बनाउन वडा कार्यालय लागिरहेको स्पष्ट पारे ।

विद्यालयमा स्वर्ण महोत्सव चलिरहँदा यहाँका विद्यार्थीको अवस्था कस्तो छ, वातावरण कस्तो छ, खानेपानीको उचित प्रवन्ध छ कि छैन, शिक्षादीक्षाको अवस्था कस्तो छ भन्ने विषय बुझ्न अति जरुरी रहेको उनले बताए । यति बुझ्दै जाँदा केही विद्यार्थीलाई न्यानो कपडाको समस्या भएको जानकारी पाएर वडाले सहयोग गरेको वडाध्यक्ष बरालले स्पष्ट पारे ।

चिसोका कारण, भोकका कारण, प्यासका कारण, शैक्षिक सामाग्री अभावका कारण विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नहुने उनले बताए । स्वर्ण महोत्सवका बारेमा चर्चा परिचर्चा सुरु भइसकेको भन्दै उनले पछिल्लो समयमा विद्यालयको राम्रो प्रगति भएको भन्दै खुसी प्रकट गरे ।

निवर्तमान वडाध्यक्ष धनबहादुर नेपालीले विद्यालयको रंग र भवनले मात्र शिक्षा गुणस्तरीय हुन नसक्ने भन्दै गुणस्तरीय शिक्षामा विद्यार्थी, विद्यालय, शिक्षक, अभिभावक सबैको सहकार्य हुन आवश्यक रहेको बताए ।

पूर्व विद्यार्थी मञ्चका संयोजक दिनबन्धु गौतमले विद्यालयमा पुस्तकालय भवन निर्माणमा आफूहरु जुटेको भन्दै यसका लागि सहयोगीहरुको साथको खाँचो रहेको बताए । उनले पुस्तकालय भवन शिलान्यास माघ ६ गते गरिने स्पष्ट पारे । उक्त भवनका लागि करिब १० लाख रुपैयाँ लाग्ने आँकलन गरिएको र हालसम्म ५ लाख रुपैयाँ संकलन भएको उनले बताए ।

सो अवसरमा विद्यालयकी प्रधानाध्यापक वदनकुमारी शर्माले विद्यालयको स्वर्ण महोत्सवका लागि सम्पूर्ण ध्यान केन्द्रित गरेको बताइन् । उनले विद्यालय र स्वर्ण महोत्सव वडाकै प्रतिष्ठासँग जोडिएकाले सबैको सहयोग आवश्यक भएको स्पष्ट पारिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले वडाको महत्वपूर्ण सम्पति विद्यालय भएको भन्दै विद्यालयको समग्र विकासमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । आफूहरु विद्यालयको स्वर्ण महोत्सव सभ्य र भव्य बनाउन लागिरहेको उनले बताए । विद्यालयको स्वर्ण महोत्सवको मूल समारोह माघ १३ गते हुनेछ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य एवं वडा सदस्य हरिमाया विक, वडा सदस्य कल्पना क्षेत्री भुवाइँले पनि विद्यालय र स्वर्ण महोत्सवका साथै वडा कार्यालयका गतिविधिमाथि चर्चा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds