पोखरा । लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवस पोखरामा बुधबार मनाइएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानले श्रष्टा सम्मान गरी दिवस मनाएको हो ।
प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ३३ हजार ३ सय ३३ रुपैयाँ राशीसहित बस्नेतलाई सम्मान अर्पण गरेको हो ।
यस्तै, स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार लोकदोहोरी गायक राजन कार्कीलाई प्रदान गरियो ।११ हजार १ सय ११ रुपैयाँ नगदसहित कार्कीलाई पुरस्कृत गरिएको हो । कार्की राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष हुन् ।
वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानका प्रमुख संरक्षक सर्मीला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले नगदको साथमा फूलमाला, दोसल्ला र सम्मानपत्र सहित पुरस्कार तथा सम्मान अर्पण गरेका हुन् ।
‘छोरी भन्दा आमा तरुनी’, ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’ लगायतका सदावहार चर्चित गीतका स्रष्टा बस्नेते सम्मानित भएपछि पोखरासँगको आफ्नो साइनो पुरानो भएको स्मरण गरे । पोखरालाई सांस्कृतिक क्रेन्द्र बनाउनुपर्छ भनेर पहिलेदेखिनै आवाज उठाउँदै बताउँदै उनले पोखरालाई सम्झदा खिम बहादुर गन्धर्व, विर्खबहादुर गन्धर्व, झलकमान गन्धर्व, हरिदेवी कोइराला लगायतलाई सम्झने र कल्याण शेरचन, चेतन कार्की, मिन बहादुर गुरुङ, मिनकाजी गुरुङ लगायतसँग सहकार्य गरेको सुनाए ।
नेपालमा लोकगीत र दोहोरी गीतको सुरुवात आफूले गरेको बताउँदै उनले अहिले समेत देश विदेशका कार्यक्रममा व्यस्त रहेको जनाए । तरुनी फकाउने गीत गाएर कुमार बस्नेत भएको भन्नेहरु समेत भएको भन्दै त्यस्तो भन्दा आफूलाई चित्त नदुख्ने बताए । हरेक देशको आ–आफ्नो संस्कृति भएकोले त्यसको संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङले स्व.कल्याण शेरचनले अम्मरसिँह मावि पढ्दाका दिनको स्मरण गरे ।
शेरचन बहुमुखी प्रतिभाको व्यक्ति भएको भन्दै नाँच्न, गाउनमा मात्र नभएर खेलमा समेत अब्बल रहेको सुनाए । कार्यक्रममा सम्मानित भएका कुमार बस्नेतको समेत उनले प्रशंसा गरे । त्यतिबेलाको माहोलको कारण धर्मराज थापाले रुवाउने गीत गाउने गरेको र कुमार बस्नेतले हँसाउने गीत गाउने गरेको खुलाए । डा.गुरुङले गीत समेत गाउदै आफूतर्फ ध्यान खिँचे । ।
कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव जीवन दाहाल लगायतले बोलेका थिए । कार्यक्रममा कलाकारले कल्याण शेरचनले सिर्जना गरेका गीतहरु समेत सुनाएका थिए । नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार प्राप्त गर्न सफल राजन कार्कीले आमा सम्बन्धि गीत सुनाए ।
स्रष्टा सम्मान, एवम् स्व. चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार छनोट समितिका संयोजक खेम गुरुङको संयोजकत्वमा गठन भएको समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । छनोट समितिको सदस्यमा पदमराज ढकाल, मनकुमार श्रेष्ठ, ज्ञानबहादुर थापा र यामबहादुर गुरुङ रहेका थिए ।
नेपाली लोक गीत तथा संगीतमा चर्चित गीतहरु ‘सोह्र वर्षे उमेरैमा’, ‘आहा कलिलो तामालाई’, ‘राम्दी पुल’ जस्ता गीतका सर्जक लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको स्मृतिमा कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना भएको हो । स्मृति प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि सक्रियरुपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
स्रष्टा कल्याण शेरचनको देहावसान पश्चात हिमाली सांस्कृतिक परिवारले २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौराह (चुट्का) गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिताबाट संकलित रकमले अक्षयकोष स्थापना गरी २०६९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराई प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठान समाज कल्याण परिषदमा पनि दर्ता भएको छ । प्रतिष्ठानले हरेक वर्ष साउन १२ गते शेरचनको जन्म जयन्ती र माघ २४ गते स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
प्रतिष्ठानले स्रष्टा कल्याण शेरचनले अंगालेका विधाहरु लोक संस्कृति, शिक्षा र खेलकुद क्षेत्रमा योगदान पुयाउनु हुने व्यक्तित्वहरुलाई सम्मान अर्पण गर्ने गरेको हो । यस क्रममा वरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक स्व.डम्बरसिंह गुरुङ, शिक्षाविद् बलवीर सिंह नेगी, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, शिक्षाविद् रुप बहादुर गुरुङ र वरिष्ठ खेलाडी एवम् प्रशिक्षक खड्गबहादुर रानाभाट, शिक्षाविद् स्व.योगेन्द्र बहादुर बस्नेत, वरिष्ठ लोक गायक नारायण रायमाझी, वरिष्ठ कलाकार बाबा राणालाई सम्मान तथा अभिनन्दन गरिसकेको थियो ।
यसैगरी, सेभेन ए साईड फूटबल प्रतियोगिता, पश्चिमाञ्चल स्तरीय कौराह नृत्य साँस्कृतिक कार्यक्रम, भूकम्पपीडित विद्यालयको पुनर्निर्माण, राष्ट्रिय लोक बाजा मादल बादन प्रतियोगिता, राष्ट्रिय सारङ्गी बादन सम्मेलन, राष्ट्रिय एकल नृत्य प्रतियोगिता, राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता जस्ता महत्वपूर्ण कार्यक्रमहरु समेत प्रतिष्ठानले गर्दै आएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा