अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई स्पेशल अवार्ड

सम्मान

अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई स्पेशल अवार्ड

'६० वर्ष पुगिसक्दासम्म थकाई नमानी अनवरत र निस्वार्थ योगदान'

Sudarshan Ranjit

पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्रदान गरिएको छ ।

२० औं एनएसजेएफ स्पोर्ट्स अवार्डमा पोखराका सुदर्शन रञ्जितलाई यो अवार्ड प्रदान गरिएको हो ।

सुदर्शन रञ्जित: एक परिचय

नेपालमा यस्ता थुप्रै ब्यक्तिहरु छन् जसमा खेलकुद मोह बेजोड छ र भित्रि मनदेखि नै खेल क्षेत्रको उत्थानमा दिनरात अग्रसर हुने जाँगर पनि ।

पोखराका सुदर्शन रञ्जित त्यस्तै एक उदाहरण हुन् ।

सामान्यरुपमा बुझ्नेहरु उनलाई पोखराका फोटो पत्रकार भन्छन्, अली बढी बुझ्नेले सहारा क्लबका एक सदस्यको रुपमा मात्र चिन्न सक्छन् ।

तर सुदर्शनको परिचय यत्तिमै सीमित गर्दा न्याय हुनै सक्दैन । उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही, पोखरेली पर्यटन र पोखरेली खेलकुदका अभियन्ता पनि । यी सबैका कम्बो पात्र हुन् सुदर्शन रञ्जित ।

चार दशक भन्दा वढी भयो होला, पोखरामा हुने खेल गतिविधिका शायदै कुनै तस्विर होलान्, जुन उनको क्यामरामा कैद नभएको होस् ।

माछापुच्छ्रेलाई आवरणमा पारेर एक बालकले क्रिकेट खेल्दै गर्दा उनले क्लिक गरेको एक तस्विरले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘Photo of the Year 2007’ को अवार्ड नै जित्यो ।

खेलाडीलाई सहयोग गर्ने सुदर्शनको जुनुन यस्तो छ की अनिल गुरुङ, सिपोरा गुरुङ, मञ्जु गुरुङ जस्ता थुप्रै पात्रहरु अन्तर्राष्ट्रिय खेल मानचित्रमा अग्लिँदा सुदर्शनको विम्व त्यहाँ महशुश हुन्छ नै ।

पोखराको स्थापित आहारारा गोल्डकपलाई उकास्ने सयौं हातहरुमा सुदर्शनको भूमिका स्यानो देखिन सक्छ, तर असाध्य महत्वपूर्ण खम्बाको रुपमा उनको भूमिका कम्तिमा त्यो क्लबका बाँकी सबै खम्बाहरुले बुझेका छन् । सहाराको सराहना फिफाले गर्दा होस् वा अनाथ बालबालिकालाई बालिग खेलाडी बनाउँदा, सहाराको हरेक सफलता सुदर्शनलाई ठोक्किएर मात्र अगाडि वढेको छ ।

खेलकुद क्षेत्रको विकृतीमा की सुदर्शनको क्यामरा बोल्छ की आफै । पोखरा रंगशाला जोगाउन पर्खालले घेर्ने अभियानमा होस् वा रंगशालालाई गौचरण बन्न वा ड्राइभिङ सेन्टर बन्न नदिन । उनले गरेका स–साना लाग्ने खवरदारीले ठूलो र राम्रो परिणाम दिएको देख्न सकिन्छ ।

खेलकुदमा यसरी हस्याँङ फस्याङ गरेर चार दशक वढी विताईसक्दा आर्थिक उपार्जन गर्ने उदेश्य थोपा देखिन्न । न त नाम र सम्मानको भोक नै । खालि खेलकुद प्रतिको एउटा जुनुन, त्यो पनि ६० वर्ष पुगिसक्दासम्म थकाई नमानी अनवरत र निस्वार्थ ।

अनि त भनिन्छ नी सुदर्शन जस्ता ब्यक्तिहरु छन् त देशमा खेलकुदको पनि इज्जत छ । अझ सोझै भन्दा यस्तै ब्यक्तिहरुका कारण त यो देशमा खेलकुद अझैसम्म टिकिरहेको छ ।

नेपाली खेलकुदलाई दशकौंदेखि निस्वार्थ सेवा गरिरहेका सामान्य देखिने सुदर्शन रञ्जितको योगदान आइतबार काठमाडौंमा भव्य रुपमा सम्मानित भयो । नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुदका यी सिपाहीलाई एनएसजेएफ स्पेशल अवार्ड बाट सम्मानित गर्‍यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ