पोखरामा अब ५ तलासम्म अग्लो घर बनाउन पाइने

पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड २०८०:

पोखरामा अब ५ तलासम्म अग्लो घर बनाउन पाइने

यसअघि साढे ३ तला मात्रै बनाउन पाइने मापदण्ड थियो

Pokhara Scene 2

तस्वीरः विपिन दाहाल

पोखरा महानगरपालिकामा अब बन्ने घर तथा भवन ५ तलासम्म बनाउन महानगरले दिने भएको छ ।

यसअघि पोखरामा साढे ३ तलासम्म मात्रै बनाउन पाइने मापदण्ड थियो । तर, जग्गा र पैसा हुनेले मनलाग्दी घर तथा संरचना बनाउँदै आएका थिए ।

आज बुधबार महानगरपालिकाले सार्वजनिक गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड २०८० मा ५ तलासम्म अग्लो घर तथा भवन बनाउन पाइने नीति छ । तर, घर बनाउनु अघि माटो परीक्षण गर्न भने अनिवार्य छ ।

मापदण्ड राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।

यसअघि, पोखरा निर्माणका पिता मानिने तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले पहिलोपटक २०३१ सालमा बढीमा साढे ३ तला भवन बनाउन पाइने मापदण्ड तोकेको थियो । अहिलेसम्म सोहि अनुसार संरचना निर्माण हुँदै आएको थियो । बीचमा नगरपरिषद्बाट महानगर भवन निर्माण तथा नक्सापास निर्देशिका बनाई अनुमति पनि दिँदै आयो ।

विद्यालय, अस्पताल, होटल, रेस्टुरेन्ट र अरू व्यावसायिक प्रयोजन निम्ति बन्ने भवनका लागि भने केन्द्र सरकारले २०७२ मा ल्याएको निर्देशिका लागु हुँदै आएका थिए ।

तर पोखरामा महानगरको मापदण्ड मिच्दै साढे ३ तला भन्दा ५ हजार बढी संरचना निर्माण भइसकेको अनुमान छ । हिमाल नै छेक्ने गगनचुम्बी १० तलामाथिका घरहरु नै २ दर्जन जति छन् । मापदण्ड विपरित बनेका घरलाई न्यूनतम जरिवाना तिराई भवन सम्पन्न पत्रसमेत महानगरले दिइसकेको छ ।

महानगरमा अनुमति लिन नगई बनाउने, सकिएपछि जाने र केही जरिवाना तिरेर घर सम्पन्न लिने काम हुँदै आएको थियो । महानगरले पनि अनदेखा गर्दै आएको थियो ।

यो मापदण्ड लागू भएपछि पोखरामा यसअघि मापदण्ड मिचेर बनेका धेरै भवन अब स्वतः वैधानिक हुनेछन् ।

मेयर धनराज आचार्यले यो नयाँ मापदण्डमा पोखरामा अब बन्ने भवन वातावरणमैत्री हुनुपर्ने उल्लेख गरिएको बताए । एसी प्रयोग गर्न नपर्ने गरी नयाँ मापदण्डले वातावरण मैत्री संरचनामा जोड दिएको उनले बताए ।

यो मापदण्ड लागु गर्न चुनौती पनि रहेको भन्दै उनले ठेकेदार, ईञ्जिनियर सबैलाई सहजीकरण गर्दै बुझाउँदै जाने पनि बताए ।

ग्रीन सिटी अर्थात् हरित शहरको रुपमा विकासको नीति पनि महानगरले ल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds