१४ औं पसगाउँ महोत्सव फागुन १९ र २० गते, पोखरेलीलाई स्वागत गर्न आतुर [भिडियो]

महोत्सव

१४ औं पसगाउँ महोत्सव फागुन १९ र २० गते, पोखरेलीलाई स्वागत गर्न आतुर [भिडियो]

पोखराको अमरसिंहचोकबाट बस लाग्ने

pasg patrakar sammelan (1)

लमजुङको क्व्होलासोँथार गाउँपालिका–६ को पसगाउँमा यही फागुन १९ र २० गते १४औँ पसगाउँ महोत्सव हुने भएको छ ।

ग्रामीण पर्यटन विस्तार गर्ने उद्देश्यले ०६० देखि महोत्सव हुँदै आएको छ । लोकसंस्कृति तथा स्थानीय हस्तकला प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहने होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

लमजुङको उत्तर–पश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न आयोजक पसगाउँ सामुहिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष एवं क्व्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

समुद्री सतहदेखि एक हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँ तमू (गुरुङ) जातिको बाहुल्यता रहेको गाउँ हो । १४५ घरधुरी र १०५९ जनसंख्या रहेको यस गाउँमा हाल २१ घरमा होम स्टे संचालनमा रहेको छ । दृश्य अवलोकन र पिकनिक स्पटका लागि पसगाउँ भूपू समितिको नेतृत्व तथा लगानीमा पसगाउँको कोम्रे डाँडामा शौचालय, खानेपानी तथा बिजुली बत्ती लगायत भौतिक संरचनाको व्यवस्था भैसकेको छ।

गुरुङ जातिको कला–संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवद्र्धन गर्दै न्यून आय भएका नागरिकको आर्थिक एवं सामाजिक जीवनस्तर उकास्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

ग्रामीण पर्यटनको विस्तार गर्ने, लोकसंस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने, स्थानीय हस्तकला प्रदर्शनी गर्ने, पसगाउँलाई देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।

महोत्सवमार्फत पसगाउँको मौलिक संस्कृति कृष्ण चरित्र नृत्य, झ्याउरे नाच, सारंगी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यहरूको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न टेवा पुग्ने वडाध्यक्ष मनलाल गुरुङले बताए ।

लमजुङ सदरमुकाम बेँसीसहरदेखि पालिका केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ । पोखराबाटसमेत पसगाउँका लागि बस लाग्नेछ ।

वि.सं. २०६० साल वैशाख १६ र १७ गते प्रथम पसगाउँ महोत्सव आयोजना गरिएको थियो । पछिल्लो समय कोभिड संक्रमण जोखिमका कारण महोत्सवलाई निरन्तरता दिन नसक्दा निरन्तरता टुटेको थियो ।

पोखरादेखि रामबजार, अमरसिंह, गिलुङ हुँदै, पोखरादेखि थुम्सीकोट हुँदै, तनहुँको दमौली भोर्लेटार गिलुङ हुँदै र बेंसीसहरदेखि घलेगाउँ भुजुङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।

महोत्सवमा स्थानीय कला संस्कृति, हस्तकला तथा खाद्यान्नबाली प्रदर्शन गरिने भएको छ ।

महोत्सव प्रचारप्रसार हेतु आयोजक टोली विहीबार पोखरा आएर यहाँका पत्रकारमाझ महोत्सवबारे जानकारी गरायो ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, एक्स सर्भिस एशोसियसन यूकेका सचिव गमबहादुर गुरुङ, पसगाउँ समाजका अध्यक्ष रामबहादुर गुरुङ, पसगाउँ संरक्षण व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद गुरुङ, पसगाउँ समाज पोखरा आमा समूहका अध्यक्ष हरिमाया गुरुङलगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ