पर्यटनको राजधानी घोषणाका दिन आइतबार पोखरा महानगर, वडा र मातहतका कार्यालयमा बिदा

पर्यटनको राजधानी घोषणाका दिन आइतबार पोखरा महानगर, वडा र मातहतका कार्यालयमा बिदा

pokhara-mahanagar

पोखरा महानगरले चैत ४ गते आइतबार महानगर र मातहतका कार्यालयहरुमा बिदा दिएको छ । सो दिन पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रम छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले घोषणा कार्यक्रममा सबै पोखरेलीको सक्रिय सहभागिता रहने भएकाले महानगर कार्यालय, वडा कार्यालय, शाखा, महाशाखाहरु बन्द गरिएको जनाएका छन् । आइतबार र्‍यालीसहित बाराही घाटमा हुने विशेष समारोहमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी छ ।

पोखराको थप प्रवद्र्धन गर्न र पर्यटनकै माध्यमबाट विकास गर्ने उद्देश्यले औपचारिक रुपमा यसलाई पर्यटनको राजधानी घोषणा घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगको आयोजनामा हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छन् ।

०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्य प्रदेश सरकार, स्थानीय तहहरु, संघ, संस्था र सरोकारवालाको संलग्नतामा पर्यटकीय राजधानी घोषणा हुने बताउनुहुन्छ । पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्ने तयारी छ ।

‘पोखरा प्रदेशको राजधानीमात्र होइन, हामी ग्रेटर पोखराको अवधारणामा छौं, सबै स्थानीय तह, संघ सरकार, पोखरेलीसहित सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds