बागलुङ बस दुर्घटना (अपडेट) : ज्यान गुमाउनेको संख्या ९ पुग्यो, २८ जना घाइते

दुर्घटना

बागलुङ बस दुर्घटना (अपडेट) : ज्यान गुमाउनेको संख्या ९ पुग्यो, २८ जना घाइते

Nisikhola Bus Durghatana

बागलुङ । बागलुङमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र २७ जनाको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दाङका लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ की बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह बिक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका विक्रम परियारको मृत्यु भएको हो ।

बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको र दुई जनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ