काठमाडौं, १५ चैत । दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ ।
दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो ।
दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान संचालनमा आउने जानकारी दिएको छ । र, कर्णाली प्रदेशपछि देशका अन्य भागमा पनि यो अभियानलाई संचालन गर्ने तयारी भैरहेको आन्दोलनका नेतृत्व गरिरहेका अभियन्ता खगेन्द्र सुनारले जानकारी दिए । ‘सबैभन्दा बढि विभेद भोग्ने र उपेक्षामा पारिएका भनेकै कर्णालीका दलितहरु हुन् । र, संख्याको हिसाबले पनि कर्णालीमा देशकै सबैभन्दा धेरै दलितहरुको जनसंख्याको बसोबास रहेको छ ।
‘ कर्णालीबाटै अभियान शुरु गर्नुको तात्पर्य बुझाउँदै सुनारले भने, ‘त्यसैले पनि कर्णालीमै हामी पहिलो चरणमा केन्द्रित भएका हौँ । र, कर्णालीमा यो अभियान शुरु भएसँगै समुदायस्तरबाट धेरै ठाऊँमा हामीलाई बोलावट आएको छ । यसलाई हामीले देशव्यापी बनाउँछौँ ।’
दलित समुदायलाई सामाजिक र राजनीतिक रुपमै नेतृत्वमा ल्याउन आवश्यक रहेकोले जनस्तरमै त्यसको चेत जगाउन अभियान गर्नुपरेको सुनारले प्रस्ट्याए । ‘सामाजिक रुपमा अझै पनि दलितमाथि विभेद छ । जातकै कारण हाम्रा दाजुभाई, बाहरु मारिएका छन् । छोरी चेली र आमाहरु बलात्कृत भैरहेकै छन् ।’ अभियन्ता सुनारले भने, ‘त्यस्तै राजनीतिक रुपमा पनि हाम्रो समुदायले यो व्यवस्थाको लागि जुन बलिदानी दिएको थियो, त्यसको कदर भएको छैन ।

पछिल्लो पटक भएको प्रत्येक सरकारको हेराफेरीमा एकजना दलित मन्त्रीमण्डलमा छनौटमा पर्न सकिरहेका छैनन् ।’ अभियन्ता सुनारले आफ्नो लागि आफै र दलितका लागि दलित नै लाग्नुपर्ने कुराको सचेतना समुदायस्तरमा फैलाउने अभियानको उद्देश्य रहेको सुनाए ।
कर्णाली प्रदेशको सुर्खेतबाट समुदाय जागरण अभियान शुरु भएको हो । सुर्खेतमा भएको जागरण अभियानमा समुदायस्तरबाट बाक्लो जनउपस्थिती रहेको थियो । सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय साँच्चै ठुलो समस्यामा रहेको तथ्य सुनाए । दलित समुदायले आफ्नो अधिकार प्राप्तिका लागि ठुलो लडाँई लड्न आवश्यक रहेको उनले बताए । त्यसो त आफू दलित आयोगमा रहेर समुदायमाथिको विभेदविरुद्ध आवाज उठाउँदा पनि राज्यले वास्ता नगर्ने गरेको उनले गुनासो गरे ।
त्यस्तै, कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले कर्णाली प्रदेशमा सबैभन्दा बढि जनसंख्या दलित समुदायको रहिरहँदा पनि राज्यले समुदायलाई सँधै उपेक्षा गरिरहेको बताए । ‘राज्यले न समुदायको पक्षमा केही बोल्छ, न त नीतिगत रुपमै गर्नुपर्ने केही काम गर्छ ।’
उनले भने, ‘सबैभन्दा ठुलो संख्यामा दलित रहेको र उनीहरु नै सबैभन्दा विभेद सहेर बाँच्नुपरेको तथ्यलाई राज्यले सँधै उपेक्षा गरिरहेको छ । आफूले प्रदेशसभामार्फत दलितहरुको पक्षमा आवाज उठाईरहेको भएपनि सडकबाट दलित आन्दोलनमार्फत पनि राज्यलाई दबाब दिन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा लोकदोहोरी गायक राजु परियारले पनि विशेष प्रस्तुती दिएका थिए । उनले गीतमार्फत नै अब कसैलाई पनि सुनपानीले छर्कन नपर्ने खालको समाज निर्माण हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिकले जनप्रतिनीधिको रुपमा पनि आफूले जातीय विभेद सहनुपरिरहेको किस्सा सुनाएका थिए । साथै उनले जनस्तरमा आफूले समुदायको लागि काम गर्न खोज्दा पनि राजनीतिक रुपमा पेलान्मा पारिएको बताएका थिए ।
अभियान अन्तरगत आन्दोलनका संयोजक खगेन्द्र सुनार आफ्नो समूहसहित यतिबेला कर्णालीका विभिन्न स्थानहरुमा पुगिरहेका छन् । दलित समुदायको अवस्थासँगै उनीहरुको सामाजिक र राजनीतिक चिन्तनको बारेमा सुनार सहितको टोलीले मिहिन ढंगले अध्ययन पनि गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ