ओलीले गण्डकीका राप्रपा सांसदलाई भने: ‘साथ दिनुस्, हामी सँगै भयौं भने धेरै काम गर्न सक्छौं’

ओलीले गण्डकीका राप्रपा सांसदलाई भने: ‘साथ दिनुस्, हामी सँगै भयौं भने धेरै काम गर्न सक्छौं’

Kp Oli pancharam

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसदसँग छलफल गरेका छन् ।

गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राप्रपाले चैत २१ गते केन्द्रीय पदाधिकारीको बैठकबाट एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेपछि यहाँ नयाँ सरकार बन्न सकस बनेको छ । सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा काँग्रेस सरकार बन्नेमा सशंकित छ ।

एमाले कास्कीमा निर्वाचित कमिटीको शपथ कार्यक्रममा जानुअघि ओलीले शुक्रबार पोखराको एक रिसोर्टमा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङसँग भेट गरेका छन् ।

गुरूङ यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थिए । उनीसँग भेटमा ओलीले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका छन् । यसअघि पनि सँगै बस्दा गण्डकीमा धेरै राम्रो काम भएको र अब पनि मिलेर जाँदा धेरै काम हुन सक्ने बताएको गुरूङले जानकारी दिए ।

ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका थिए । अरू कुरा मिलाउने जिम्मेवारी आफ्नो भएको उनले बताए । ‘एमालेका नेताहरूले ओलीजीले भेट्न चाहनुभएको छ भनेपछि भेटेको हुँ । केहीबेर कुरा गर्‍यौं । उहाँले सहकार्य गरेर जाऔं, केके गर्न सकिन्छ गरौं भन्नुभयो,’ गुरूङले भने ।

सत्ता गठबन्धनलाई साथ नदिने हो भने कांग्रेसलाई समर्थन नगरी तटस्थ बस्न ओलीले राप्रपासँग आग्रह गरेको स्रोतको दाबी छ । गुरूङले आफूले मात्र चाहेर नहुने केन्द्रीय नेतृत्वको निर्णयबाटै चल्ने बताएको जानकारी दिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गर्दै २७ गते ३ बजेसम्मको समय दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds