पोखरामा बाइक मोडिफाई गर्नेलाई थुनामा राखेर कारवाही गर्ने

पोखरामा बाइक मोडिफाई गर्नेलाई थुनामा राखेर कारवाही गर्ने

modify bikee

पोखरा। नेपाल प्रहरीले सवारी साधनको स्वरुप परिवर्तन (मोडिफाई) गरेर ध्वनी प्रदुषण गर्ने व्यक्तिलाई थुनामा राखेर कारबाही गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले सवारी साधनको मोडिफाई गरी चलाउनेलाई शनिबारदेखि मुद्दा चलाई थुनामा राखेर कारवाही गर्ने घोषणा गरे ।

सवारी साधनको स्वरुप परिवर्तनलाई रोक्न शुत्रबार आयोजना गरिएको सचेतनामुलक स्टिकर टाँस्ने अभियान शुभारम्भ समारोहमा एसपी थापाले अनुमति नलिई सवारी साधनको मोडिफाई गर्नेलाई अभद्र व्यवहार तथा शान्ति सुरक्षा खलल सम्बन्धी मुद्दाका कारवाही गर्ने बताए ।

स्वरुप परिवर्तन गरेर सवारी साधन चलाउँदा दुर्घटना हुने तथा चर्को आवाजले ध्वनी प्रदुषण गर्ने गराउनेलाई नियन्त्रणमा लिएर कारवाही गर्दै आएको उनले उल्लेख गरे ।

एसपी थापाले समाजमा अशान्ति फैलाउने खालका त्यस्ता सवारी साधनहरुलाई नियन्त्रणमा लिएर पहिलो चरणमा ट्राफिक कारवाही गरेको जानकारी दिए ।

मोडिफाई गरिएको त्यस्ता सवारीको पाटपुर्जा फेर्न लगाई सुरुको अवस्थामा बनाई छाडिएको उल्लेख गर्दै उनले दोस्रो पटकमा यातायात व्यवस्था कार्यालयमा पठाएर हदैसम्मको कारवाही गरेको बताए ।

उनले नेपाल प्रहरीले कार्ययोजना बनाएर कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने घोषणा गरे ।

‘जती सुकै कारवाही गरपनि सवारी साधनको मोडिफाई गर्ने क्रम रोकिएन । सवारी साधन मोडिफाई गर्ने क्रम बढ्दो छ,’उनले भने, ‘आजबाट सचेतनामुलक कार्यक्रम सुरुवात भएको छ । भोलीबाट पक्राउ गरी थुनामा राखेर कारवाही गरिने छ ।’

उनले सवारी साधनको मोडिफाई गर्ने चालक तथा वर्कसपलाई १ वर्ष कैद र १० हजार जरिवाना गरिने जानकारी दिए । उनले त्यस्तो कसुर गर्नेलाई जिल्ला प्रशासन कार्यालय कास्की मार्फत कारवाही गर्ने तथा २५ दिनसम्म हिरासतमा राख्न सकिने उल्लेख गरे ।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा जिल्ला प्रहरी कार्यालय कास्कीले सचेतनामुलक स्टिकर टास्ने अभियानको शुभारम्भसँगै मोटर साइकल वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थानका सञ्चालक, व्यवसायी तथा मजदुरहरुसँग त्यसबारे खुल्ला अन्तक्र्रिया गरेको छ । अभियानको क्रममा वर्कसप तथा पार्टपूर्जा बेच्ने पसलहरुमा सचेतना मूलक स्टिकर समेत टाँस गरिएको छ ।

कार्यक्रममा एसपी थापाले पोखरालाई पर्यटकीय राजधानी घोषणा भई सकेको अवस्थामा ध्वनी प्रदुषणको बारेमा पर्यटकको ठुलो गुनासो रहेको बताए ।

रात्री कालिन व्यवसाय २४ सै घण्टा खोल्ने तयारी भई रहेको अवस्थामा समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न वर्कसप सञ्चालकको समेत महत्वपूर्ण जिम्मेवारी हुने उल्लेख गरे ।

उनले त्यस्तो गैरकानूनी कार्य नगर्न र अनधिकृत रुपमा स्वरुप परिवर्तन गराउन खोज्ने व्यक्तिको सम्बन्धमा प्रहरीलाई खबर गरी कानून कार्यान्वयन गर्न सहयोग गर्न समेत अनुरोध गरे ।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले स्वरुप परिवर्तन गरी सवारी चलाउँदा हुने ध्वनी प्रदुषणले बिरामी, बाल बालिका ज्येष्ठ नागरिक, विद्यालय अस्पतालमा प्रत्यक्ष असर पर्ने बताए ।

वर्कसप सञ्चालक एशोसियसनका अध्यक्ष अर्जुन सुवेदीले कोही कसैले सवारी साधनको मोडिफाई गर्दा सबै व्यवसायीलाई असर गरेको उल्लेख गरे । उनले त्यस्तो गैर कानुनी कार्यलाई नियन्त्रण गर्ने अभियानलाई व्यवसायीको तर्फबाट पूर्ण सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मा, प्रहरी निरीक्षक तिलक मानन्धर, वरिष्ठ प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहा, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले अभियानको बारेका बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds