‘ब्रीज कोर्समाथि प्रतिबन्ध होइन, शुल्क तोक, पालनामा कडाई गर’

पोखरामा ब्रीजकोर्स प्रतिबन्ध बहस:

‘ब्रीज कोर्समाथि प्रतिबन्ध होइन, शुल्क तोक, पालनामा कडाई गर’

लुट्न दिनु हुँदैन, पढ्ने अधिकार खोस्नु हुँदैन

Bridgecourse pokhara

पोखरा महानगरपालिकाले महानगरभित्र कक्षा ११ को भर्नाको लागि शुल्क लिएर सञ्चालन गरिने अतिरिक्त शैक्षिक कार्यक्रम (ब्रिज कोर्स)मा प्रतिबन्ध लगायो । गत वर्ष नै प्रतिबन्ध लगाउने निर्णय गरेको महानगरले यो वर्ष फेरि सञ्चालन नगर्न भनेको छ ।

यस निर्णयमाथि पक्ष विपक्षमा बहस भइरहेको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले यो निर्णयमात्र नभई अन्य थुप्रै निर्णय गरेको छ । अन्य निर्णयहरु भने स्वागतयोग्य रहेको प्रतिक्रिया आएका छन् ।

जस्तै, विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरण गर्न रोक लगाउने, एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधिभर भर्ना शुल्कवापत् अधिकतम् २ महिनाभन्दा बढीको शुल्क लिन नपाइने, २० वर्षभन्दा पुराना सवारी साधन विद्यार्थी बोक्ने काममा प्रयोग गर्न नपाउने, स्कूलबसले विद्यार्थीलाई डेढ घण्टा भन्दा बढी बसमा डुलाउन नपाइने, विद्यालय क्षेत्रको सय मिटर दूरीभित्र सूर्ती तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने ।

ब्रीज कोर्सका हकमा भने निश्चित शुल्क तोकेर कडाईका साथ पालना गर्न लागिपर्नुपर्ने महानगर कक्षा नै सञ्चालन गर्न नदिनेतर्फ लाग्नु दुःखको कुरा रहेको आवाजहरु उठेका छन् ।

ब्रीज कोर्स उपयोगी छ

ब्रिज अर्थात साँघु । साँघुले खोला वारीकालाई पारी तर्न सजिलो बनाउँछ । ब्रिज कोर्सले चाहिँ एउटा तहकालाई माथिल्लो तहमा सजिलो गरी चढाउँछ । यसले विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि मानसिक रुपमा तयारी गराउँछ ।

एसईई अर्थात विद्यालय तहको परीक्षा सकिएलगत्तै नतिजा आउनेसमयसम्मको फुर्सदलाई केमा उपयोग गर्ने ? विकल्प अनेक छन् । मस्त घुमफिर गरेर, घतलाग्दा पुस्तकहरु पढेर, गतिला गतिला सिनेमा हेरेर वा घरपरिवारको काममा सघाएर समय कटाउन सकिन्छ ।

विकल्प यतिमै सकिँदैन । यतिबेला रुचीअनुसार कुनै नयाँ सीप सिक्न पनि सकिन्छ, जस्तो, कम्प्युटरको कुनै विशेष प्रोगाम, कुनै भाषा वा फोटोग्राफी ।

छोटो अवधिका लागि यीमध्ये कुनै तालिम लिँदा पढाईको लय छुट्ने पो हो कि ? किनभने, विद्यालय तहमा उनीहरुले निरन्तर पढे । १० बर्षसम्म अविछिन्न रुपमा पुस्तक र होमवर्कमा केन्द्रित भए । एसईई उत्तिर्ण भएपछि फेरी पढाईको अर्को चरण सुरु हुनेछ ।

एसईईपछिको प्लस टु भनेको उच्च शिक्षाको ढोका हो, जहाँबाट सुदूर भविष्यको प्राज्ञिक यात्रा निर्धारण हुन्छ । करिअरको आधारशीला निर्माण हुने प्लस टुमा विद्यार्थीहरुले आफुलाई परिस्कृत पाठ्यक्रममा अभ्यस्त गराउनुपर्छ । विद्यालय तहको शिक्षा र प्लस टुबीचमा रहेको दूरी घटाउने काम ब्रिजकोर्सले गर्छ ।

प्लस टुको पाठ्यक्रम गाह्रो छ कि ? पढ्न नसकिने हो कि ? भन्ने जस्ता भय वा भ्रम मेट्ने माध्याम हो, ब्रिज कोर्स । यसले विद्यार्थीको मनोवैज्ञनिक उपचार गर्छ ।

विद्यालय तहबाट प्लस टुमा फड्को मारेका विद्यार्थीलाई असहज नहोस् भनेर नै ब्रिज कोर्स गराइन्छ । यसले कक्षा ११ मा प्रवेश गर्ने र प्लस टु पढ्ने तयारी गराउँछ ।

प्लस टु पढाउने उत्कृष्ट शिक्षालयहरुमा भर्ना पाउन चर्को प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । निश्चित कोटामा भर्ना लिने ति प्लस टुले आवेदन दिएजति सबै विद्यार्थीलाई भर्ना गर्दैन । भर्नाका लागि तिनले लिने प्रवेश परीक्षा उतीर्ण हुनैपर्छ । त्यसका लागि ब्रिजकोर्सले सघाउ पुर्‍याउँछ ।

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक परामर्श दिनु ब्रिजकोर्सको अर्को बिषेशता हो । आफ्नो रुची, क्षमता, आर्थिक अवस्था अनुसार कुन विषय पढ्ने ? कहाँ पढ्ने ? कसरी पढ्ने ? लगायतको विषयमा परामर्श र निर्णय लिन ब्रिजकोर्सले सघाउँछ ।

विद्यार्थीहरुमा आत्मविश्वास बढाउनु ब्रिजकोर्सको अर्को विशेषता हो । लामो समय विद्यालय तहको एकखाले वातावरणमा बसेका विद्यार्थीका लागि प्लस टुको पाठ्यक्रम र माहोल पनि फरक हुन्छ । कतिलाई त्यो असहज लाग्न सक्छ ।

प्लस टु कस्तो होला ? त्यहाँका शिक्षक र अनेक विद्यालयबाट आउने नयाँ साथीहरु कस्ता होलान् ? कसरी ‘एडजस्ट’ हुने होला ? लगायतका प्रश्नले हलचल मच्चाइरहेको विद्यार्थीहरुको मनमा ब्रिज कोर्सले आत्माविश्वास भरिदिन्छ ।

एसइई परीक्षा दिएका विद्यार्थीहरु किशोरकालका हुन्छन् । यो निकै कल्पनाशील र वहकिने उमेर पनि हो । तिव्र गतिमा शारीरिक परीवर्तन हुने यो उमेरमा मानसिक उथलपुथल पनि भइरहेको हुन्छ ।

यस्तो बेला खराब संगतमा पुग्ने जोखिम पनि रहन्छ । परिपक्वता र असल बाटोतिर डोरिनुपर्ने यो उमेरको फुर्सदमा ब्रिजकोर्स संसारभर नै उपयोगी मानिएको छ ।

तर, ख्याल गर्नुपर्ने कुरा

शहरमा अनगिन्ती इन्स्टिच्युट खुलेका छन् । ब्रिजकोर्स गर्ने सुरमा तपाई तीमध्ये खराब इन्स्टिच्युटमा भर्ना हुन पुग्नुभयो भने अपेक्षित नतिजा हासिल नहुने पक्का छ ।

त्यसकारण भर्ना हुनुअघि इन्ष्टिच्युट सञ्चालकहरुको पृष्ठभूमि, सिकाई विधि, शुल्क आदिबारे राम्रोसंग बुझ्नुपर्छ । यहाँसम्म आइपुगेपछि पनि तपाईंले एउटा प्रश्न उठाउनैपर्छ– के ब्रिजकोर्स गर्नैपर्छ ?

ब्रिजकोर्स अनिवार्य होइन । यो नगरे पनि तपाईंले प्लस टुमा सहज अनुभव गर्न सक्नुहुन्छ । के मात्र हो भने, फुर्सदको समय व्यर्थमा बिताउनुभन्दा ब्रिजकोर्स गर्नु उपयुक्त हो ।

ब्रिजकोर्सले पढाइको सिलसिला जोड्छ र उच्च शिक्षाका लागि तयार बनाउँछ । अर्थात्, प्लस टुको शिक्षाबारे पूर्व अभ्यास गराउँछ ।

ब्रिजकोर्समा कक्षा ११ को पाठ्यक्रममा आधारित पठनपाठन गराइन्छ । अन्य के कस्ता तयारी गर्ने भन्ने कुरा बुझाइन्छ । त्यसबाहेक विद्यार्थीलाई बौद्धिक विकासका खुराकहरु पनि दिइन्छ ।

उत्कृष्ट कलेजहरुले प्रवेश परीक्षामा कस्ता प्रश्न सोध्छन् र त्यसको जवाफ कसरी दिने भनेर पूर्वतयारी ब्रिजकोर्सले गराउँछ । यी कारणहरुले गर्दा फुर्सदको समयमा ब्रिजकोर्स गर्नु राम्रो हुन्छ ।

लुट्न दिनुहुँदैन, शुल्क निर्धारण गरी चल्न दिनुपर्छ

पोखरा महानगरको यो उर्दीमा कुनै तुक देखिन्न । महानगरले यसरी निरीहता प्रकट गर्नु भन्दा महानगरभित्र ब्रीज कोर्सको अधिकतम शुल्क तोक्ने, शुल्क भन्दा बढी लिएको पाइए कारबाही गर्ने/गराउने हो । कक्षा १२ सम्म माध्यमिक तहकै शिक्षा हो ।

कक्षा १० अर्थात् एसईई उत्तीर्ण पछि कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा गराउँदा विद्यार्थीले तयारी कक्षा लिने गरेका हुन् । जबसम्म प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना गर्ने विधि तय गरिँदैन, तबसम्म परीक्षाको तयारी गर्न प्रतिबन्ध लगाउने कुरा मनासिव हुँदैन ।

अग्रज पत्रकार रामकृष्ण ज्ञवालीले एक लेख नै प्रकाशित गरी भनेका छन्: ‘जब परीक्षा लिइन्छ भने परीक्षाको तयारी गर्न पनि दिइनुपर्छ । ट्युसन होस् वा अन्य केही, पढ्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार हो । पोखरा महानगर पालिकालाई ‘ब्रिजकोर्सका नाममा मोटो रकम असुलेर ठगी गरेको’ भन्ने लागेको छ भने शुल्क निर्धारण गर्न सक्छ । एउटा कक्षा कोठामा राखिने विद्यार्थीको संख्या तोक्न सक्छ । ब्रिजकोर्सको सेलेबसको बारेमा छलफल चलाउन सक्छ । तर परीक्षाको तयारी गर्ने विद्यार्थीलाई पढ्न पाउँदैनस् भन्न चाहिँ पाइँदै पाइँदैन ।

देशका अन्य भागमा ब्रिजकोर्सको पढाइ भइरहेकै छ । गत वर्ष पोखरामा ब्रिजकोर्स बन्द गरिएपछि कतिपय अभिभावकले आफ्ना सन्तानलाई पोखरा बाहिर पठाए । कतिपय विद्यार्थी चितवन गएर पढे । हुनेखानेले घरमै शिक्षक बोलाएर पढाए । आसपासका कैयौं विद्यार्थी पोखरा सहर नाघेर काठमाडौं पुगे ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ