पोखरा विमानस्थलमा जब वर्तमान र निवर्तमान मुख्यमन्त्री भेट भए र सँगै उडे

केआर बधाई खान, एसआर विरुद्धमा रिट हाल्न

पोखरा विमानस्थलमा जब वर्तमान र निवर्तमान मुख्यमन्त्री भेट भए र सँगै उडे

पद उडेको झोँकमा सपथ समारोह छलेका पाण्डे साँझ विमानस्थलमै भेटिए

KR & SR

गण्डकीको राजनीति आइतबार तरंगित बन्यो । मध्यान्हसम्मका कामचलाउ मुख्यमन्त्री पदमुक्त भए, विपक्षी दलका नेता मुख्यमन्त्री बने ।

खगराज अधिकारीलाई आजको दिन किन पनि विशेष रह्यो भने, उनको आजै जन्मदिन हो । आजै मुख्यमन्त्रीमा नियुक्त भए । मध्यान्हसम्म कामचलाउ सरकारका मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेको पद गयो र प्रतिपक्षमा पुगे ।

एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्रीमा खगराज अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेश गरे । दाबीमा सभामुख पनि गणना भएको थाहा पाउनासाथ नेपाली कांग्रेसले उक्त दाबी असंवैधानिक रहेको बतायो ।

दिउँसो २ बजे मुख्यमन्त्री पाण्डे आफै प्रदेश प्रमुखकहाँ आउने भनेर समय मागे । तर, उनले १ नबज्दै दलका उपनेता बिन्दुकुमार थापाको नेतृत्वमा एक दर्जन टोली प्रदेश प्रमुखकहाँ पठाए । तर, उनीहरु गेटमा पुग्नेबेला खगराज भने प्रदेश प्रमुख निवासभित्रै थिए र नियुक्तिपत्र बुझिसकेका थिए ।

खगराज नियुक्ति पत्र लिएर बाहिरिँदा सँगसँगै असहमतिको पत्र लिएर काँग्रेस टोली प्रदेश प्रमुख निवास छिरेका थिए । पत्र दर्ता गराएपछि परिचय गरेर प्रदेश प्रमुखले उनीहरूलाई फिर्ता पठाए ।

प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीका अनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दलहरूले दाबी गरे अनुसार आवश्यक बहुमत संख्या पुगेकाले नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले पुनः २ बजे आफू आउने बताए । प्रदेश प्रमुख भट्ट तल कार्यालयमा पुगे तर पाण्डे नआएपछि केहि मिनेटमै पुनः निवास फर्किए । पाण्डे काठमाण्डौ हानिए भनेर मिडियामा प्रचार भयो । तर, उनी दिउँसो काठमाण्डौ उडेका थिएनन् ।

एक त उनले २ बजे प्रदेश प्रमुखलाई आउँछु भनेर ढाँटे । अर्को त, सपथ ग्रहण कार्यक्रममा पनि उपस्थित भएनन् । जबकि, उनी राजीनामा दिएका मुख्यमन्त्री थिए । उनलाई हठात् हटाएको अवस्था थिएन । यसअघि १०५ दिनमै खगराज अधिकारीले पद छाड्नुपर्दा उनी सपथ ग्रहण कार्यक्रममा उपस्थित भएर पाण्डेलाई बधाई दिएका थिए ।

खगराज आफूसहित दुई मन्त्रीको सपथपछि पदबहाली गरेर विमानस्थल पुगे । सुरेन्द्रराज नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्चमा रिट हाल्न काठमाडौं जान पहिल्यै विमानस्थल पुगेका थिए । संयोगवश विमानस्थलमा वर्तमान र निवर्तमान मुख्यमन्त्रीको भेट भीआईपी कक्षमा भयो ।

एउटै जहाजको टिकट लिएका दुवै बेग्लाबेग्लै कोठामा भएपनि ५ मिनेट सँगै भेटेर जन्ममिदनको शुभकामना दिनेदेखि हाँसिमजाक गरे । बधाई खान र विरोध गर्न काठमाण्डौ हानिएका वर्तमान र निवर्तमान मुख्यमन्त्री एकै जहाजमा उडे ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ