पोखरामा सहकारी पीडित संगठित, ६ वटा सहकारीबाट पीडित भएकाहरुले बनाए संघर्ष समिति

पोखरामा सहकारी पीडित संगठित, ६ वटा सहकारीबाट पीडित भएकाहरुले बनाए संघर्ष समिति

sahakari thag

पोखरा — कास्कीका सहकारी पीडित संगठित बनेका छन् । उनीहरूले आन्दोलनको तयारी पनि गरेका छन् । कास्कीका ६ सहकारीका पीडितको पोखरामा बसेको भेलाले संयुक्त रूपमा आन्दोलन अगाडि बढाउने निर्णय गरेको हो ।

पोखरामा अहिले ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ । यी ६ वटै सहकारीका पीडितहरूले संयुक्त रूपमा जाने निर्णय गरेका हुन् । बचतकर्ताको रकम फिर्ता गर्न सरकार र राजनीतिक दलले पहल नगरेको भन्दै उनीहरू आन्दोलित  बनेका हुन् । भेलाले कास्की सहकारी बचतपीडित संघर्ष समिति गठन गरेको छ ।

 सूर्यदर्शन सहकारीपीडित किरण श्रेष्ठको संयोजकत्वमा गठित समितिको उपाध्यक्षमा इमेज सहकारीपीडित हरिबहादुर खत्री, कोषाध्यक्षमा शिवशिखर सहकारीपीडित टेकराज तिमिल्सिना, सचिवमा मित्रमिलन सहकारीपीडित प्रकाश पौडेल र सहसचिवमा बलिदानी सहकारीपीडित धम पुन छन् । विन्ध्यवासिनी सहकारीका प्रतिनिधि पनि संघर्ष समितिमा छन् ।

संयोजक श्रेष्ठले एक साताभित्र पोखरामा सहकारीपीडितले बृहत् प्रदर्शन गर्ने भेलाले निर्णय गरेको बताए ।

सहकारी ठगीमा मुछिएका गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई चैत २७ मा मन्त्रालयमै भेटेर पीडितले समस्या सुल्झाउन माग गरे पनि हालसम्म बेवास्ता भएको संयोजक श्रेष्ठले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा आएकै बेला पीडितले समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

सहकारी ठगीका सबै अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने, निष्पक्ष छानबिन गर्नुपर्ने, पीडितका बचत रकम तत्काल फिर्ता गर्नुपर्नेलगायत माग संघर्ष समितिको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ