लेकसाइडमा होटलबाट खसेर बिहे मान्न आएका युवकको मृत्यु

खसेर मृत्यु

लेकसाइडमा होटलबाट खसेर बिहे मान्न आएका युवकको मृत्यु

होटलमा ६ जना युवायुवती ३ दिनदेखि बसेका थिए, रातभरी बाहिरै थिए

Hotel Tulsi Pokhara

पोखराको लेकसाइड स्थित एक होटलको झ्यालबाट खसेर युवकको ज्यान गएको छ ।

रौतहट जिल्ला गौर नगरपालिका घर भएका २८ वर्षीय भुवनेश झाको बिहान ७ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा वडा नं. ६ लेकसाइड, स्ट्रीट नं. १४ मा रहेको होटल तुलसीको दोस्रो तल्लामा झा बसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले गण्डकन्यूजलाई जानकारी दिए ।

डीएसपी शर्माका अनुसार ६ जनाको टोली मिलेर पोखरा आएका थिए । होटलमा उनीहरूले ३ वटा कोठा लिएका थिए । एक कोठामा झा र अर्का एक साथी सुतेका थिए । ति साथीसहित पाँच जना तथा होटल सञ्चालकसँग प्रहरीले घटनाबारे सोधपुछ गरेको छ ।

होटल सञ्चालकका अनुसार विगत तीन दिनदेखि उनीहरु त्यहाँ बसेका थिए । ६ जनाको टोलीमा तीन युवक र एक युवती गरी ४ जना बंगलादेशी, मृतक झा र अर्का एक नेपाली युवती थिए ।

‘पोखराकै साथीको बिहेमा सहभागी हुन टोली आएर हाम्रो होटलमा बसेका थिए । हिजो बिहे पार्टी रैछ । रातभरी बाहिरै थिए । क्लब गएर आएको भन्ने सुन्या हो । बिहान ७ बजेतिर मात्र होटल आएको सीसीटीभी फुटेजमा देखिन्छ ।’ होटल सञ्चालकले गण्डकन्यूजसँग भने ।

होटलका फ्रण्ट म्यानेजर सञ्जय गुरूङले स्वयं प्रत्यक्षदर्शी रहेको जनाए । उनका अनुसार ६ जना रहेकाले पालैसँग गाडीमा आएका थिए र उनीहरू ड्रन्क थिए ।

माथि उक्लेको १ घण्टा पछि झा झ्यालबाट खसेको होटलका फ्रण्ट म्यानेजर गुरूङले बताए । ‘एक जना खसेपछि हामी माथि जाँदा काेठामा सँगैका साथी बोल्न सक्ने अवस्थामा थिएनन्’ – उनले भने- ‘हामीले तत्काल एम्बुलेन्स पनि बोलायौँ । एम्बुलेन्सले अलिक समय पनि लगाए । प्रहरीलाई खबर गरेका हौँ ।  प्रहरीले शव बुझेर पोष्टमार्टमका लागि लगिसकेका छन् । मृतकका आफन्तहरु पछि आएका थिए ।’

प्रत्यक्षदर्शी र थप विवरण प्राप्त भएपछि अद्यावधिक गरिएको (समयः  २१ः०३ बजे) सं.

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ