पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज आइतबार विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक राखिएकाे छ ।
मुख्यमन्त्रीको कार्यालयबाट विश्वासको मतका लागि शुक्रबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गरिएकाे छ । विश्वासको मतको प्रस्ताव कार्यसूचीमा चढिसकेको सचिवालयले जनाएको छ ।
गण्डकीको संसद ६० सिटे छ । प्रदेश सभामा सभामुखसहित एमाले, माओवादी केन्द्र र स्वतन्त्र गरी ३१ सांसद छन् भने प्रतिपक्षमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ गरी २९ छन् । राप्रपाले विपक्षमा मतदान गरेमा सत्तापक्षमा ३० मत पर्नेछ ।
सर्वोच्चको पछिल्लो आदेश अनुसार सत्ता पक्षले ३० लाई नै बहुमत मान्ने तयारी गरेको छ भने विपक्ष त्यो मान्न तयार छैन । माओवादीका सांसद कृष्ण धिताल सभामुख छन् । एमाले माओवादीले सभामुखलाई छोडेर अरु सांसद गन्नुपर्ने बताएका छन् । गण्डकीको बहुमत ३० कि ३१ भन्नेमा कानुन व्यवसायीहरु पनि विभाजित भएका छन् ।
सर्वोच्च अदालतले अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले संविधान अनुसार वैशाख २४ सम्म विश्वासको मत लिनुपर्छ । तर १ दिन अगावै अर्थात् आज २३ गते विश्वासको मत लिनका लागि बैठक बोलाइएको हो ।
२ सदस्य रहेको राप्रपा अहिलेको गठबन्धनप्रति लचक नहुँदा अधिकारी सरकार सकसमा परेको छ । राप्रपालाई सभामुख दिने भनेर एमालेले फकाए पनि उसले मानेको छैन । राप्रपाले सभामुख खाए अधिकारी सरकारलाई सहज बहुमत पुग्नेमा उसले यस प्रस्ताव पनि स्वीकारेन ।
राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ केन्द्रले गर्ने निर्णयमा आफूहरु अडिग रहने बताए । यद्यपि उनी स्वयं भने अधिकारी सरकारसँग सकारात्मक छन् । अधिकारी पहिलो पटक मुख्यमन्त्री हुँदा पनि गुरुङ सामाजिक विकास मन्त्री थिए । तर अहिले परिवेश फरक परेको छ । संघमा पहिले मिलेका एमाले राप्रपा अहिले केन्द्रदेखि प्रदेशसम्म नै सरकारबाट बाहिर छ ।
नेपालको संविधानको धारा १८८ (३) ले संसद्मा तत्काल कायम रहेका सदस्यको बहुमतबाट मात्रै विश्वासको मतको प्रस्ताव पारित हुने उल्लेख गरेको छ । मुख्यमन्त्रीमा दाबी गर्दा अधिकारीले सभामुखलाई गणना गरेका थिए । एमालेका २२, माओवादीका सभामुख सहित ८ र स्वतन्त्र सांसद १ जनाको समर्थन उनले देखाएका हुन् । सोही दाबी आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई गत २५ चैतमा मुख्यमन्त्री नियुक्त गरे । तर निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनको नियुक्ति गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दिए ।
दायर रिटमा सभामुखलाई सत्ता राजनीतिसँग जोड्न नमिल्ने दाबी थियो भने अधिकारी सरकार अवैध भएकोले सत्ताच्यूतको माग थियो । अदालतले न अधिकारी सरकार हटायो, न त सभामुखलाई सत्ता राजनीतिमा गणना ग¥यो । प्रदेश सभामा ६० सांसद रहेका कारण मत बराबर हुन सक्ने अवस्था नरहेको आकलन सहित सभामुखलाई संसद्बाट नै ‘आइसोलेट’ गरिदिएको छ । ५९ सांसद बनाएर ३० ले बहुमत देखाउन सक्ने गरी विवाद उत्पन्न हुने गरी आदेश जारी गरेको छ । संविधानको धारा १६८ (२) बमोजिम नियुक्त भएका अधिकारीले (४) बमोजिम विश्वासको मत लिनुपर्छ ।
गण्डकीमा अहिले ३ सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्रीको सपथसँगै माओवादी दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिनाविभागीय मन्त्री बनेका थिए । अहिले चुमानले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मनाङे भौतिक मन्त्री छन् ।
माओवादीले ३ मन्त्रालय माग्यो
विश्वासको मत अघि नै मन्त्रालयको टुंगो लगाउनुपर्ने माग माओवादीको छ । अहिले कायम रहेका ७ मन्त्रालयमध्ये कम्तीमा ३ मन्त्रालय माओवादीले मागेको छ । दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्रालयको जिम्मेवारीमा छन् ।
बाँकी २ मन्त्रालयको नाम नटुंगिए पनि दलहरुबीच मन्त्रालयको संख्या भागबण्डा मिलाउनुपर्ने माओवादीको माग छ । ‘मन्त्रालयको नाममा पछि कुरा गरौंला तर मन्त्रालयको संख्यामा सहमति हुनुपर्छ भनेका छौं,’ उनले भनिन्, ‘३ मन्त्रालयमा हाम्रो दाबी हो ।’ २०७९ को चुनावपछि बनेका २ सरकारमा माओवादीका २ मन्त्री मात्रै थिए । अहिले कम्तीमा ३ मन्त्रालय माओवादीले पाउनुपर्ने बुढाको भनाइ छ ।
मन्त्रालयको बाँडफाँट र अन्य राजनीतिक विषयमा छलफल गर्न एमाले र माओवादीका संसदीय दलका नेताबीच वान टु वान बैठक बसेको छ । मुख्यमन्त्री समेत रहेका एमाले नेता खगराज अधिकारी र अर्थमन्त्री तथा माओवादी दलका नेता हरिबहादुर चुमानबीच भेटवार्ता भएको हो । तर अधिकारीले विश्वासको मतपछि मात्रै मन्त्रालय टुंग्याउने बताएका छन् ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम