‘रवीन्द्र साझा नेता हुन्, एमालेको मात्र भनिएमा अन्याय हुन्छः काँग्रेस

'स्मृतिमा रवीन्द्र' परिसंवाद कार्यक्रम

‘रवीन्द्र साझा नेता हुन्, एमालेको मात्र भनिएमा अन्याय हुन्छः काँग्रेस

वाइडबडी खरीद प्रकरणमा निर्दोष छु भन्नुहुन्थ्यो, अख्तियारले नै पुष्टि गर्‍यो: मेयर धनराज आचार्य

rabindra smriti (2)

हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन मन्त्री रवीन्द्र अधिकारी सबै दल र जनताका साझा सम्पति बनाइनुपर्नेमा जोड दिइएको छ । स्व. अधिकारी जनजन, मनमनका नेता भएकाले यो समयमा उनकाे अभाव खड्किएको भन्दै स्मरण गरियो ।

स्व. रवीन्द्र अधिकारीको ५५ औंँ जन्मजयन्तीको सन्दर्भमा आयोजित ‘स्मृतिमा रवीन्द्र’ विषयक परिसंवाद कार्यक्रममा वक्ताहरूले वाइडबडी भ्रष्टाचार काण्डमा जबर्जस्त संलग्नता गराई आरोपित गरिएका अधिकारीलाई अख्तियारले नै संलग्न छैन भनी ठहर गरिसकेकाले उनको आत्मालाई शान्ति मिलेको पनि उल्लेख गरे ।

प्रतिष्ठानका सदस्य तथा पिएनका पूर्व प्राध्यापक, बाम वुद्धिजीवी कालिदास शर्माले अख्तियारले वाइडबडीमा संलग्नता छैन भनी सफाई दिँदा अधिकारी जीवित भएको भए बेदाग रहेर बिदा हुन्थे भनी भावुक बने ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले रवीन्द्रलाई वाइडबडी काण्डमा मुछेपनि उनी निर्दोष रहेकाे अख्तियारले प्रमाणित गरेको बताए । रवीन्द्रका बालसखासमेत रहेका मेयर अचार्यले भने – ‘हिजो रवीन्द्र रहँदा पनि यसमा म संलग्न छैन । मन्त्रीकै हैसियतमा गर्नुपर्ने काम मात्र गरेको भन्नुहुन्थ्यो । अख्तियारले पनि संलग्नता नरहेको क्लीन चिट दियो । उहाँ जीवित रहँदा नै भएको भए झन् राम्र‍ो हुन्थ्यो ।’

नेपाली काँग्रेस, कास्कीका सभापति किशोरदत्त बरालले रवीन्द्र साझा सम्पति हो भन्दै एमालेको मात्र भनिएमा अन्याय हुने बताए । उनले भने – ‘जसरी विपीलाई मुलुकको नेता भन्छौँ । त्यसरी नै रविन्द्र साझा नेता हुन् । एउटा प्रतिवद्धता, संकल्प गरौँ, राजनीतिलाई उद्यमशील, सिर्जनशील बनाउन सकिन्छ, रवीन्द्रलाई जोडौँ । साझा व्यक्तिका लागि सबैले अघि बढाऔंँ। सबै दलको साझा एजेण्डा आज बनाऔंँ ।’

सभापति बरालले राजनीतिक आस्था र सिद्धान्त फरक होला तर, राष्ट्र समृद्धि, विकासका सवालमा एउटै हुनुपर्छ भन्दै रवीन्द्रको सपनालाई साकार पार्न के गरिरहेका छौँ ? कि भाषणमा मात्र सीमित छौँ ? भनी प्रश्न गरे ।

राजनीति विकृत बनिरहँदा त्यसभन्दा भिन्न रवीन्द्र थिए भन्दै स्मरण गर्दै उनले थपे – ‘राजनीतिलाई घृणासँग जोड्यौँ, अविश्वाससँग जोड्यौँ । अब जनतासँग जोडौँ । प्रेमसँग जोडौँ । हामीले अहिले गरिरहेको राजनीति, राजनीति हैन ।

एमाले कास्की अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जनजनको मनमनको नेता अधिकारी पार्टीमा अफ्ठ्याराे पर्दा समन्वय गर्ने क्षमता भएका, पार्टी राजनीति र संसदीय राजनीतिमा सफल नेशनल फिगरका नेता रहेकाे स्मरण गरे ।

उनले राजनीति समृद्धि, विकास र सिर्जनशीलताका लागि हुनुपर्ने भन्दै यो राजनीतिक परिवेशले रवीन्द्र खोजिरहेकाले हामी समृद्धिको यात्रामा अघि बढ्ने बेला रहेकाे बताए ।

पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले अद्भुत क्षमताका धनी रवीन्द्रको निधनपछि हरेकले अभावको अनुभूति गरिरहेको बताए । उनले भने – ‘सबैले भन्छन्, अब कसले गर्ला ?’

नयाँ एयरपोर्ट बनाउनु आवश्यक थियो, दशकौँदेखि जग्गा लिइएको थियो । आज एयरपोर्टबारेमा उनी भएको भए केही दबाब हुन्थ्यो कि ? भनी स्मरण पनि गरे ।

प्रदेश योजना आयोगकी पूर्व सदस्यसमेत रहेकी उपप्राध्यापक डा. शान्ता खत्रीले स्व. अधिकारी महिला समानता, राजनीतिमा महिलाको उपस्थिति हुनुपर्नेमा जोड दिने व्यक्तित्व रहेको स्मरण गर्दै अधिकारीको मिसन र भिजनलाई पूरा गर्नुपर्ने बताइन् ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले अधिकारी पूर्ण गुणले भरिपूर्ण नेता रहेकाे बताए ।

कार्यक्रममा परिवारका तर्फबाट राजेन्द्रमणि लामिछाने (ठूलीआमा छोरा), यामनाथ पौडेल र ध्रुब अधिकारीले पनि बोलेका थिए ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराई अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अर्जुन अधिकारी र सञ्चालन रश्मि आचार्यले गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ