पोखरा महानगरले प्रहरीलाई बुझायो सूर्यदर्शन सहकारी पीडितको प्रतिवेदन

पोखरा महानगरले प्रहरीलाई बुझायो सूर्यदर्शन सहकारी पीडितको प्रतिवेदन

surya-darshan-1536×959

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गठित समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको छ ।

विज्ञ टोलीले करिब ४ महिना लगाएर तयार पारेको ३४१९ पृष्ठ लामो उक्त प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको हो । बिहीबार साँझ पोखरा महानगरपालिका कार्यालयमा आयोजित समारोहमा महानगर प्रमुख धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मालाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

मेयर आचार्यले विगत लामो समयदेखि विज्ञसहितको टोली राखेर प्रतिवेदन बुझाएको र अब प्रहरीले नै अनुसन्धान गर्ने बताए ।

यसअघि बुझाइएको ४५० पृष्ठको प्रतिवेदनभन्दा अहिलेको प्रतिवेदनमा थप अनुसन्धानसहित विस्तृत अध्ययन गरिएको अनुसन्धानमा सहभागी सहकारी विज्ञ दीपकप्रकाश आचार्यले बताए।

‘खासगरी सूर्यदर्शन सहकारी लिमिटेडबाट पिडित हुनुभएका साथिहरुले हामीलाई निवेदन प्राप्त भएपछि यस्को विस्तृत रुपमा के भएको हो भनेर हामीले चार्टर एकाउन्टेन, वीत्तिय साथीहरु र नेपाल प्रहरीको सिआईबीबाट तोकेर आउनुभएको साथिहरुले पोखरा महानगरपालिकाको सहकारी समितिको रोहवरमा उसले तोकेको प्रतिनिधिको सहभागितामा यसको छानविन गरेर एउटा प्रतिवेदन प्राप्त भएको छ’ मेयरले भने, ‘जम्मा ३४ सय १९ पेजको ९ वटा ठेली प्रतिवेदन प्राप्त भएको छ यसका के छ भन्ने कुरा हामीलाई थाहा छैन अब प्रहरीलाई हामी प्रदान गरेका छौं ।’

उनले औपचारिक रुपमा बुझाएको बताए । कोहि पनि अन्यायमा पर्न नहुने र कोहि दोषि उम्कन नहुने उनले बताए ।सहकारी पिडित तथा सहकारी पिडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले माघ २० गते सहकारी ठगी प्रकरणमा पुरक छानविन गर्न पोखरा महानगर पालिका, प्रहरीसहितको टोलीले प्रतिवेदन तयार पारेको बताए ।

प्रतिवेदन तयारका लागि पोखरा महानगरपालिका सहकारी समितिले सहकारी विज्ञ, चार्टर्ड एकाउन्ट, राष्ट्रिय अनुसन्धानका अधिकारी, प्रहरी लगायतलाई राखेर गत २० माघदेखि काम थालेको थियो । जसमा सहकारी समितिका तर्फबाट दीपकप्रकाश आचार्य र चार्टर्ड एकाउन्टेन्ट इन्जिनियर अनिल लामिछाने विज्ञको रुपमा थिए ।

प्रतिवेदनमा के छ भन्ने कुराको विस्तृत विवरण प्रहरीको अनुसन्धान प्रतिवेदन अदालतमा छिरिसकेपछि मात्र आउने बताइएको छ ।

तर, एक सदस्यका अनुसार तत्कालीन ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक एवं हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँले माग फारम भरेर सहकारीबाट एक करोड रूपैयाँ ऋण लगेको छानबिन समितिले आंैल्याएको छ । सेयरधनी रहेका बेला उक्त ऋण माग गरेको फारम भेटिएको छानबिन समितिले जनाएको हो । उक्त मागको फोटोकपी प्रतिवेदनमा समेत समेटिएको बताइएको छ ।

सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीअनुसार गत साउन २२ मा सहकारी ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

१९ जनामध्ये सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १५ जना अझै फरार छन् । सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बिचल्ली भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds