पोखरा । राइड सेयरिङ एप पठाओले आफूहरुको सेवा वैध भएको बताएको छ । पोखरामा वैशाखदेखि सेवा दिन थालेको पठाओले यातायात व्यवस्था कार्यालय, गण्डकीले अनधिकृत एप नचलाउन र यात्रु ओसारपसार नगर्न भन्दै सूचना जारी गरेकोमा अस्वीकार पनि गरेको छ ।
कास्की प्रहरीले राइड सेयरिङ एपमार्फत यात्रु ओसारपसार गरेको आरोपमा २६ चालकलाई समातेकोमा पठाओ राइडरहरू वैध रहेकाले यसतर्फ छानविन गर्न पनि ध्यानाकर्षण पनि गराएको छ ।
गण्डकी प्रदेशमा राइड सेयरिङ सम्बन्धी कार्यविधि प्रदेश सरकारले बनाउन बाँकी छ । त्यही आधारमा यातायात कार्यालयले अनधिकृत भनेको छ । बागमती पनि त्यस्तो कार्यविधि नभए पनि राइड सेयरिङ एपमार्फत सेवा सञ्चालन भइरहेको पठाओका कार्यकारी निर्देशक असीममान सिंह बस्न्यातले बताए ।
पोखरामा आइतबार मिडियाकर्मीहरुसँगको छलफलमा पठाओ नेपालका प्रबन्ध निर्देशक बस्न्यातले यातायात कार्यालयले विगतमा भएका कानूनी अभ्यासलाई समेत अवलम्वन नगरी एकपक्षीय रुपमा राइड सेयरिङ प्लेटफर्ममाथि अंकुश लगाएको भन्दै आपत्ति जनाए ।
बस्न्यातका अनुसार ५ वर्षअघि पठाओको सेवा सुरु भएपछि यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको थियो । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३ (४)मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त ४ पांग्रे तथा २ पांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बिमा गरी यात्री ओसारपसार गर्न सक्नेछ भनी उल्लेख भएको आधारमा नै अदालतले आदेश गरेको थियो । फैसलामा पेसा, व्यवसाय र रोजगारको हकअन्तर्गत स्वस्थ व्यापार व्यवसायको पनि हक पर्छ । यातायात सेवा पनि उपभोक्ताले प्राप्त गर्ने हक भएकाले गुणस्तरीय हुनुपर्ने उल्लेख छ ।
त्यसपश्चात यातायात व्यवस्था विभागले राइड सेयरिङ बन्द नगराउन २०७६ फागुन २९ गते सूचना जारी गर्यो । विभागले उच्च अदालत पाटनको फैसलालाई आधार बनाई सोहीअनुसार काम गर्न समेत आफू मातहतका कार्यालयको ध्यानाकर्षण गराएको थियो । बस्न्यातले पोखराको यातायात व्यवस्था कार्यालयले यातायात विभागको सो आदेशलाई समेत मध्यनजर गर्दै यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुको साटो सिधै बन्द गराउन अग्रसर हुनु उचित नभएको बताए । पठाओ कम्पनी कानुनअनुसार दर्ता भई सञ्चालन भइरहेको बस्न्यातले सुनाए ।
त्यसो त गण्डकी प्रदेश सरकारको यातायात सम्बन्धी ऐन र नियमावलीमा पनि राइड सेयरिङ सम्बन्धी व्यवस्था छ । त्यस्तो व्यवस्था बागमती प्रदेशमा पनि रहेको बस्न्यातले सुनाए । ‘गण्डकीमा जे छ, बागमतीमा पनि त्यही हो,’ उनले भने, ‘काठमाडौंमा जसरी राइड सेयरिङ वैध हो, पोखरामा पनि त्यसै अनुसार हो,’ उनले भने । गण्डकीमा राइड सेयरिङ सम्बन्धी कार्यविधि बन्न बाँकी रहेजस्तै बागमतीमा पनि बनिनसकेको उनले बताए ।
बस्न्यातले पठाओले कम्पनीको कारोबार अनुसार कर तिरिरहेको, यात्रु र चालकलाई बिमा गरेको लगायत जानकारी पनि दिए । ‘टेक कम्पनीहरुमध्ये सबैभन्दा धेरै भ्याट तिर्नेमा पहिलो सम्भवत पठाओ हो,’ उनले भने । उनले कार्यविधि छिटो बनाइदिन प्रदेश सरकार र सम्बन्धित निकायहरुलाई यसअघि देखि नै आग्रह गर्दै आएको बताए ।
पोखरामा पठाओ सुरु गर्नुअघि प्रहरी, प्रशासन लगायतलाई जानकारी गराइएको पठाओका सूचना तथा सञ्चार विज्ञ विष्णुकान्त घिमिरेले बताए । उच्च अदालत पाटनको परमादेश, यातायात विभागको सूचना र प्रदेशका यातायात ऐन, नियमावली अनुसार नै राइड सेयरिङ वैध भएको उनको भनाइ थियो ।
बस्न्यातका अनुसार अहिले पोखरामा दैनिक ५ सय जनाले पठाओ एपमार्फत २ पांग्रे सवारी साधनको सेवा लिइरहेका छन् भने ४ पांग्रे अर्थात ट्याक्सी सेवा लिनेको संख्या औसत दैनिक डेढ सय छ । पठाओ २ पांग्रे राइडरको मासिक कमाइ ६० हजार रुपैयाँ र ४ पांग्रेका लाखभन्दा बढी हुने गरेको पनि बस्न्यातले सुनाए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो