पोखरामा शनिबार लाखे नाच प्रतियोगिता भएको छ । नेवार समुदायमा प्रचलित यो नाच पछिल्लो समय युवाले प्रतियोगितात्मकरुपमा संचालन गर्दै संरक्षण प्रयास गरेका छन् ।
नेवाः खलः कचा, पृथ्वीचोक आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको प्रतियोगितामा २० टिमले भाग लिएका छन् । त्यसबाहेक ३ टिम अप्रतियोगीरुपमा सहभागी भए ।
प्रतियोगितामा मोहरिया सिंहनाथ टोल तायःमचाः समिति प्रथम भयो । उसले प्रथम हुँदै नगद ५५ हजार ५५५ सहित प्रमाणपत्र र मायाको चिनो पुरस्कार पायो ।

यस्तै, रामकृष्ण टोल ल्याम्ह पुच दोस्रो, समाज कल्याण नेवाः खलः राजाको चौतारा तेस्रो र गैह्रापाटन नेवाः समाज सान्त्वना भयो । दोस्रोले ३३ हजार ३३३, तेस्रोले २२ हजार २२२ र सान्त्वना हुनेले ११ हजार १११ नगद सहित प्रमाणपत्र र मायाको चिनो पुरस्कार पाए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेको प्रतियोगितामा विजयीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
मुखमा मुखुण्डो लगाएर कालिकाको वस्त्रसहित सिंगारेर लाखे नचाउने गरिन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माने दुःख नदिउन् भनी यो नाच देखाइने पुरानो प्रचलन हो । नेवाः (नेवार) समुदायमा कुनै विशेष जात्रा अथवा पर्वको अवसरमा विभिन्न प्रकारका नृत्यहरु नाचिन्छन् । प्रायः ती देवीदेवता सम्बन्धित हुन्छन् । तर, यो सांस्कृतिक नृत्य भएको नेवाःखलः कास्की अध्यक्ष अशोक पालिखे बताउँछन् ।

नेवार समुदायको नेपालको पूर्वदेखि पश्चिम जहाँजहाँ वस्ती छ, त्यहाँ सदियौंदेखि यो नाच नाच्ने गरिन्छ । नेवार समुदायकै अर्को चर्चित तायःमचाः नृत्यमा धेरै जना नाच्ने भए पनि लाखेमा एक जनामात्र नाच्दछन् । अरु पाँच÷सात जना विभिन्नखालका बाजा बजाउने हुन्छन् । कलाकार महिला नभई सबै जना पुरुष नै हुनुपर्ने प्रचलन छ ।
२१ औं शताब्दीमा हाम्रो भाषा, कला, संस्कृति पश्चिमा संस्कृतिले ओझेलमा पार्दै गइरहेकोमा त्यसको रक्षा गर्दै नयाँ पिढी आफ्नो संस्कृतिबारे पहिचान गराउने उद्देश्यले यसपालि कास्की जिल्लास्तरीय प्रतियोगिता गरिएको प्रतियोगिताका मूल संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म (करिब १५ दिन) स्वतःस्तफूर्तरुपमा लामो समयदेखि यो नाच देखाउँदै आएका छन् । बीचमा केही समय हरायो । २०७४ सालमा रामबजार तायःमचाः समितिले प्रदेशस्तरको प्रतियोगिता गरे पनि निरन्तरता दिएन ।
तर युवाको सक्रियतामा फेरि २ वर्षअघि प्रतियोगितारुपमा यो नृत्य देखाउन सुरु भएको नेवाः खल कास्की अध्यक्ष अशोक पालिखे बताउँछन् । कास्कीको रुपाकोटस्थित नेवाःखलः फेदीले प्रतियोगितात्मकरुपमा आयोजना गरेकोमा यसपालि पोखरामै जिल्लास्तरमा भएको हो ।
एक टिमले १० मिनेटमा प्रस्तुत सक्ने गरी बढीमा १० जनासम्म सदस्य लिइएको थियो ।

नेवाः खलः कचा पृथ्वीचोक अध्यक्ष रेशमबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवारी खानाको स्वाद लिन झ्वः भ्वय्ः समेत भयो ।
नेवाः संस्कार, संस्कृति र परम्परा संरक्षण तथा पुस्ता हस्तान्तरणका लागि नेवाः खलः कास्कीले पछिल्लो समय विभिन्न कार्यक्रम गर्दै आएको छ । आगामी ८ भदौमा नयाँबजारमा हुने तायाःमचा नृत्य प्रतियोगिता २०८१ को तयारी गरिएको छ ।
लामो समयको अन्तरालपछि गत वर्ष मात्रै बाघजात्रा तथा बाह्रभैरव देखाइएको थियो ।









सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)